शिक्षक नियुक्तिको विषयमा हुम्लाको विद्यालयमा तोडफोड

Posted on: 20 Aug, 2017

रेशम राज रोकाय/भदौ ४, हुम्ला । हुम्लाको एक विद्यालयमा शिक्षक नियुक्तिको विषयमा विवाद हुँदा विद्यालयमा तोडफोड भएको छ । 

गत साउन ३० गते श्री कोट माध्यमिक विद्यालय, रोडिकोटमा विद्यालय व्यवस्थापन समितिको वैठक बसी सकेपछि सोही राती एक समूहले विद्यालयको झ्याल फोडेर विद्यालयको सम्पूर्ण तथ्याँक नामेट हुने गरी नष्ट गरिएको छ । 

कुन समूहले हो थाहा एकिन नभएको भएता पनि राती आएर विद्यालयको विद्यार्थी र शिक्षकको हाजिर रजिष्टर, यसै वर्ष माध्यमिक शिक्षा उतीर्ण परीक्षामा उतीर्ण भएका विद्यार्थीको लव्धाँक पत्र, गत वर्षका आर्थिक विवरणको अडिट गरेको कागजात, बैंकको चेकबुक लगायतका सामाग्री नष्ट गरिएको छ ।

व्यवस्थापन समितिको बैठक सकिएको राती यो घटना हुनुले व्यवस्थापन समितिको निर्णयलाई लिएर हुन सक्ने स्थानियले बताएका छन् । यसको बारेमा बुझ्नको लागि प्रधानाध्यापक नेत्र बहादुर शाहीले आफुलाई मार्ने समेत धम्की दिने गरेको बताउनु भयो । 

कक्षा ११ र १२ सञ्चालन गर्नको लागि यसै शैक्षिक वर्षबाट अनुमति लिई भर्ना लगिरहेको बेला तोडफोड गरिएको छ । प्रधानाध्यापक नेत्रलाल हमालले यस अघि विद्यालयमा आवश्यक पर्ने जनशक्ति र शिक्षकको नियुक्ति भईसकेको, हाल विद्यालयको आर्थिक अवस्थाले नयाँ शिक्षक नियुक्त गर्न नसक्ने बताए पछि सर्केगाढ गाउँपालिकाको वडा नं. ७ का वडाअध्यक्ष कृष्णप्रसाद जैशीले बेला बेला आफ्नो मान्छे नियुक्त गर्नु पर्नेमा अडान लिँदै आएको प्रधानाध्यापक हमालले बताए । वडा अध्यक्षले आफ्नो प्यानलका भोटान बहादुर छत्याललाई नियुक्त गर्ने अडान लिँदैआएका थिए भने विद्यालय प्रशासनले आर्थिक भार देखाउँदै नयाँ शिक्षक नियुक्त गर्न नसकिने जनाएको छ । 

विद्यालयमा राजनैतिक प्रतिशोधको कारण यस्तो घटना गरिएको प्रधानाध्यापक हमालले बताए । उता शिक्षक नियुक्त गर्नका लागि उम्मेद्वारमा रहेका भोटान बहादुर छत्यालले यो घटनाको आरोप आफुलाई लगाईएको भएता पनि आफ्नो संलग्नता नभएको र अपराधीलाई कानूनको दायरामा ल्याउन सम्वन्धित सबैमा अनुरोध गर्दै आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । 

विद्यालयले हाल सम्म प्रति वर्ष ३ हजार ५ सयका दरले सस्तोमा कक्षा ११ मा भर्ना लगेर विद्यार्थीको संख्या उल्लेख्य वृद्धी गरिरहेको जनाईएको छ । विद्यालयमा रहेका सम्पूर्ण सक्कली कागजात नष्ट गरिएको छ भने कुनै अभिलेख नभेटिने गरी कागजात च्यातिएको छ । विद्यालयको कार्यलयमा रहेको स्टिलको दराज समेत फोडिएको छ । यसले गर्दा हजारौं विद्यार्थीको अभिलेख लगायत विद्यालयको ईतिहाँस नै नामेठ पारिएको छ । 

विद्यालयको नजिकै रहेको कार्कीवाडा भन्ने गाउँको गुरामाडु सम्म कागजात च्यात्दै लगिएको र कुनै प्रमाण ठम्याउन नसकिने गरी नष्ट गरिएको छ । केही सम्भाव्य मिलाएर अभिलेखका टुक्रा टाक्रि मिल्ने देखिएकोमा यस्ता कागजातलाई मिलाएर केही अभिलेख सुरक्षित गर्न सकिएको समेत प्रधानाध्यापक नेत्रलाल हमालले बताउनु भयो । 

यसरी एउटा सामुदायिक विद्यालयमा आक्रमण हुनु भनेको कायरतापूर्ण काम रहेको र आफुले विद्यालयमा रहँदा राम्रो काम गर्न नदेख्ने समूहले गरेको हुन सक्ने आँकलन प्रधानाध्यापकले गर्नु भयो । 

वडाध्यक्षको संलग्नतामा घटना भएको प्रधानाध्यापकको आरोप

यो घटना वडाध्यक्षको समूहले नै गरेको भन्ने आरोप समेत प्रधानाध्यापक हमालले लगाउनु भयो । 

गत बैशाखमा भएको स्थानिय तहको चुनावमा सर्केगाड गाउँपालिकाको वडा नं. ७ मा प्रधानाध्यापक नेत्रलाल हमालका बुबा मनप्रसाद काफ्ले नेकपा एमाले र माओवादी केन्द्रको तालमेलका उम्मेद्वार र हालका वडाध्यक्ष कृष्णप्रसाद जैशी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा प्रतिष्पर्धा गरेका थिए । जित भने नेपाली काँग्रेसका कृष्णप्रसाद जैशीले हत्याएक थिए । 

सोही राजनिती हाल विद्यालयमा छिराएको र यो दुखद रहेको स्थानियले बताएका छन् । यस विद्यालयमा हाल ३ सय ८१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

यस घटनाको बारेमा अध्ययन गर्नको लागि सर्केगाड ईलाका प्रहरी चौकीले घटनाको अध्ययन गरेको छ । घटना भएकै दिन प्रहरीले क्षतीको मुचुल्का गरेको छ तर घटनाको अध्ययन थालनी नगरेको बुझिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!