हुम्लामा सुविधा सम्पन्न कक्षा कोठा निर्माण

Posted on: 16 Apr, 2018

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | कक्षा कोठा नभएर घाम लागेको बेला खेल मैदानमा, पानी परेको बेला अटाई नअटाई २ वटा कक्षाका विद्यार्थी एकै कक्षा कोठामा बस्ने समस्या हुम्लाका अधिकाँश विद्यालयको अवस्था नै हो । जसको कारणले विद्यार्थीलाई पठनपाठनमा समस्या हुँदै आएको छ । भएका भवन पनि जिर्ण हुनु, अनि घाम पानी छेक्न त परै जाओस् दुलो परेका पर्खाल, झ्याल र ढोका नभएका भवनमा हुम्लाका विद्यार्थीको शिक्षा अगाडी बढिरहेको छ ।

हरेक वर्ष नेपाल सरकारले २० देखी ३० वटा नयाँ कक्षा कोठा निर्माणको लागि हुम्ला जिल्लामा रकम अनुदान पठाउने गरेको भएता पनि यो अपुग हुँदै गएको छ । हावाहुरी, मौसमी प्रकुलताको कारण हरेक वर्ष धेरै विद्यालयले आफुसँग भएको मौजुदा भवन गुमाउनु परेको छ । गत वर्ष हुम्लाका ७ वटा सामुदायिक विद्यालयका भवन हावाहुरीको कारण जस्तापाता उडाएर समस्या बनाएको थियो । हवाई ढुवानीको कारण हरेक निर्माण सामान महँगो हुनुको कारण यहाँको विद्यालयको निर्माण पनि प्रभावित हुने गरेको छ । विद्यालयको पठन पाठनलाई समस्या नहोस् र आधुनिक बालमैत्री कक्षा कोठा निर्माण भई सहज होस् भन्नको लागि सामुदायिक विकास कार्यक्रम हुम्लाले यस वर्ष ३ कोठे भवन निर्माण गरिरहेको छ । 

हुम्लाका १० वटा विभिन्न तहका विद्यालय सामुदायिक विकास कार्यक्रमले सुविधा सम्पन्न कक्षाकोठा बनाई विद्यालयलाई हस्तान्तरण गरेको छ । कुल १ करोड ९७ लाख ८७ हजार ५ सय ५१ रकम कार्यलयको तर्फबाट र १५ लाख ६५ हजार १सय ४४ गरी कुल २ करोड १३ लाख ४३ हजार ९सय ९५ रुपैयाँ विद्यँलय निर्माणमा खर्च भएको कार्यक्रमका संयोजक राजबहादुर रोकायाले जानकारी दिनु भयो । 

कक्षा कोठा निर्माण पछि ४ सय ६२ छात्र र ४ सय १९ छात्रा प्रत्यक्ष लाभाविन्त समेत भएका छन् । साथै फलामबाट बनेका हरेक विदालय भवनलाई ३० सेट डेस्क र बेन्च समे प्रदान गरिएको छ । विद्यालय भवन नहुँदा ढुँगामा विद्यार्थीलाई बसाएर पढाउनु पर्ने अवस्था रहेको भएता पनि विद्यालयको भवन बन्दा हाल सहज भएको मान्धारा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनु भयो । विद्यालयमा फर्निचर नहुँदा कोही विद्यार्थी झ्यालमा बस्नु परेको त कोही भुईमा बस्नु पर्ने बाध्यता रहेको थियो । भएका फर्निचरको खोसाखोसले विद्यार्थी माझ द्धन्द्ध समेत सिर्जना हुने गरको भएता पनि हाल फर्निचर प्रयाप्त सहयोग सामुदायिक कार्यक्तमले गर्दा बस्नको लागि समस्या नभएको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनु भयो ।

कक्षाकोठा मात्र होईन सिमिकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले कक्षाकोठाको भवन अगाडी व्यवसायिक कोठा निर्माण गरी भाडामा दिएर मासिक २९ हजार समेत आम्दानी गरिरहेको छ । जसको कारण विद्यालयको १ जना शिक्षकलाई तलव भत्ता समेत खुवाउन सफल भएको छ । जिल्लाका सिमिकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली र अदानचुली गाउँपालिकामा यस्ता खालका सुविधा सम्पन्न भवन निर्माण गरिँदा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहज हुँदै आएको छ । 

जिल्लामा रहेका कुनै पनि विद्यालयमा सुविधा सम्पन्न विद्यालय भवन नहुँदा विदार्थीले पठनपाठनको वातावरण पाउन नसकेको बेला यस्ता खालका कक्षाकोठाले निकै टेवा पुर्याउँदै आएको छ । आगामी आर्थिक वर्षमा यस्ता खालका कक्षाकोठाको निर्माण गरी सामुदायिक विद्यालयलाई विद्यार्थीमैत्री बनाउनको लागि लागि पर्ने संयोजक राजबहादुर रोकायाको छ । हाल देशको नयाँ संरचना भए पछि हाल जिल्लाका ७ वटा गाउँपालिकाले विद्यालयको वृत्ती विकासको लागि कुनै काम गर्न सकेका छैनन् । यो वर्ष कुन शिर्षकमा के कस्तो खालको रकम आएको छ भन्ने बारेमा थाहा पाउँदै गएको यहाँका जनप्रतिनिधीको रहेको छ । शिक्षा क्षेत्रमा शिक्षकको तलवभत्ता निकाशा गर्नु बाहेक कुनै खालको  नयाँ परिवर्तन गरि प्रतिफल दिने खालका कार्यक्रम नहुँदा शिक्षा क्षेत्र प्रभावित हुँदै आएको छ । स्थानिय तह अन्तरगत रहेका विद्यालयमा समेत अनुगमन नहुँदा विद्यालयमा शिक्षक अनुपस्थित हुँदा समस्या हुने गरेको छ ।


क्याप्सन: हुम्लाका सामुदायिक विद्यालयमा निर्माण भएका सुविधासम्पन्न ३ कोठे भवन । तश्विर: रेशमराज रोकाया/ सास/ हुम्ला 


यस बिषयमा तपाइको प्रतिक्रिया...!