स्वास्थ्यकर्मी नियमित नहुनु हुम्लाको मुख्य समस्या

Posted on: 01 Nov, 2018

रेशमराज रोकाया | कार्तिक १५, हुम्ला | हुम्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमति नबस्नु प्रमूख समस्या रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाको वार्षिक समिक्षा गोष्ठिमा हुम्लाका सात वटै स्थानिय तहको स्वास्थ्य प्रमूखले स्वास्थ्य क्षेत्रमा भए गरेको सबल र दुर्बल पक्षको बारेमा प्रस्तुती राख्ने क्रममा यस्तो खुलाशा भएको हो । 

जिल्लामा स्वास्थ्यकर्मी नियमित नहुनुको कारणले जिल्लाको स्वास्थ्य अवस्था कमजोर भएको समिक्षाका सहभागिको औंल्याई रहेको थियो । भौगोलिक विकटताको कारणस्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा कार्यरत हुन नसक्दा राष्ट्रिय कार्यक्रम नै प्रभावित हुने गरेको पाईएको छ । 

नेपाल सरकारले नियमित रुपमा स्वास्थ्यसँग सम्वन्धित विभिन्न कार्यक्रम हुम्लाका स्वास्थ्यकर्मीले सञ्चालन नगर्दा स्थानियले सास्ती भोगेको पाईएको छ । उता भरखरै कर्मचारी समायोजनमा हुम्लाबाट कुनै स्वास्थ्य संस्थामा एक जना पनि स्वास्थ्यकर्मी कार्यरत नरहने गरी सरुवा भए पछि अझ यसको मार बढी परेको छ । समिक्षामा प्रस्तुत गरिएको तथ्याँकको आधार मान्ने हो भने नाम्खा गाउँपालिकाको कुनै पनि स्वास्थ्य संस्थामा गर्भधारण परिक्षण गर्नको लागि महिला नगएको र सुत्केरीसमेत नभएको बताईएको छ ।

 त्यसै गरी खोप कार्यक्रम पनि राम्ररी सञ्चालन हुन नसकेको तथ्याँक प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय प्रमूख तुलसी प्रसाद अधिकारीले बताउनु भयो । गत वर्षमा हुम्लामा २ जना आमाले सुत्केरी अवधीमा ज्यान गुमाउनु परेको पनि उल्लेख गरिएको छ । 


स्वास्थ्य संस्थामा प्रयाप्त भौतिक संरचना नहुँदा सुत्केरी लगायत अन्य सेवा सुविधा प्रदान गर्नको लागि समेत समस्या भएको कार्यक्रमका सहभागिले बताएका थिए । जिल्लामा २२ वटा बर्थिङ्ग सेन्टर भएको भएता पनि सबै बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउनको लागि उपकरण नहुँदा समस्या उत्पन्न हुने गरेको छ । गत आर्थिक वर्षमा हुम्लामा ७ सय २४ जना महिला सुत्केरी भएको र यातायातको सुविधा समेत जिल्ला स्वास्थ्य कार्यालयले उपलव्ध गराएको छ । 

हुम्लाको स्वास्थ्य संस्था र यसको प्रभावकारिता अझ बढाउनको लागि यो समिक्षा गोष्ठि सफल हुने जिल्ला अस्पताल प्रमूख डा. टासी अञ्जुक लामाले बताउनु भयो । स्वास्थ्य क्षेत्रको सुधारको लागि आफुहरु लागि परेको भएता पनि यहाँ हुने गरेको विकृती विसंगती हटाउनको लागि अझै केही समय लाग्ने उहाँको ठहर रहेको छ । समस्या धेरै छन् त्यसलाई निराकरण गर्नको लागि सबै पक्षको सहयोग रहेमा चाँडै सुधार हुने लामाले बताउनु भयो । 

स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार लाग पर्ने र यहाँको समस्या बेलैमा मन्त्रालयमा जानकारी गराउन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधी सुशिल शाहीले बताउनु भयो । सुत्केरी महिला र बालबालिकाले भिटामिन ए पनि उपभोग गर्न नपाउनु हुम्लाको स्वास्थ्य क्षेत्रकाो लागि दुर्भाग्य भएको शाहीको भनाई रहेको थियो । 

गत वर्ष पालिका स्तरमा कार्यक्रम जाँदा अझ जिल्लाको स्वास्थ्य अवस्था खस्किएको, बेलैमा स्वास्थ्य संस्थाले तथ्याँक उपलव्ध नगराउँदा हुम्लाको स्वास्थ्य क्षेत्रको तथ्याँक समेत विश्वसनिय नरहेको देखिएको छ । कुनै पनि तथ्याँक राम्रोसँग उपलव्ध नहुँदा जिल्लाको तथ्याँक भण्डारणमा समस्या हुन गएको समेत स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य क्षेत्रको सुधारको लागि सबै सरोकारवाला पक्षले सकरात्मक सोच राख्न सकेमा चाँडै नै परिवर्तन हुने स्वास्थ्य निर्देशनालयका प्रतिनिधी किरण शर्माले बताउनु भयो । 

समस्याको समाधानको लागि सरोकारवाला निकायसँग समन्वयको खाँचो समेत रहेको शर्माको भनाई रहेको थियो । 

औषधी र उपकरण ढुवानीको लागि महँगो हवाई ढुवानी हुँदा र बजेट प्रयाप्त मात्रामा मन्त्रालयले नछुट्याउँदा समस्या हुने गरेको छ । देशको अन्य जिल्लाको अवस्थालाई मध्ये नजर गरी हुम्लाको स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुनु दुर्भाग्य भएको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक धु्रवराज सिँहले बताउनु भयो । जिल्ला अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको लागि बढी समय ड्युटी गर्नेलाई यसै वर्षबाट थप पारिश्रामिकको व्यवस्था गरिएको अस्पताल प्रमूख डा. टसी अञ्जुक लामाले बताउनु भयो । गत वर्ष ६ महिनाको लागि मात्र रकम छुट्याईएको भएता पनि यस वर्षबाट पुरै वर्षको सेवा उपलव्ध गराउने लक्षय जिल्ला अस्पतालले राख्दा स्वास्थ्यकर्मीको मनोबल उच्च हुन गएको लामाको ठहर छ । शहरी क्षेत्रको मूल्य दरमा यसै वर्षबाट जिल्ला अस्पतालले आफ्नो फार्मेसी सञ्चालन गरी सहुलियत दरमा औषधी समेत विक्रि वितरण गर्ने गरेकोले स्थानियलाई सहज हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!