चार थान चाँदीका दियो चोरीयो

Posted on: 01 Feb, 2019

माघ १८, हुम्ला (रासस) | जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको देवी भवानीको मन्दिरमा चार थान दियो चोरी भएको छ । 

गाउँपालिका–५ खर्पेलगाउँमा बुधबार राति अज्ञात समूहबाट देवी भवानीको मन्दिरबाट चार थान चाँदीका दियो चोरी भएको याङ्चु प्रहरीलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो । 

बुधबार राति चोरी भएका चार थान चाँदीका दियो १२ तोलाको रहेको अनुमान गरिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर परिसरमा चोरले मूर्ति र घण्टा छरपष्ट बनाएको पनि जानाकारी प्राप्त भएको छ । मन्दिरबाट पुरातात्विक सामानसमेत चोरी भएको हुनसक्ने त्यस क्षेत्रका स्थानीयले अनुमान गरेका छन् । 

पुराना सामग्री के कति थिए भन्नेबारे कुनै यकिन नहुँदा चोरले अन्य के कति चोरी गर्यो थाहा नभएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बिहीबार याङ्चु प्रहरी चौकीको टोलीले घटनास्थल पुगी मुचुल्का गरेको थियो । मन्दिरका सामान चोरी गर्नेलाई जिल्ला बाहिर जान नदिने र चाँडै चोर पत्ता लगाई कारवाही गर्ने प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!