हुम्लामा जन्मिएका जुम्ल्याहा शिशुहरुको नाम 'कोरोना र भाइरस'

Posted on: 13 Apr, 2020

वैशाख १, हुम्ला | हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम  कोरोना र भाइरस राखिएको छ । 

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको  अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । 

अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएका छन् । सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ । 

जन्मिँदा कोरानाको तौल दुई हजार पाँच सय ग्राम र भाइरसको एक हजार सात सय ग्राम रहेको अनमी बोहराले जानकारी दिनुभयो । अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ । रासस 

भारतमा ‘कोरोना’ र ‘कोभिड’

यस अघि चैत २१ गते भारतको मिडियाहरुमा निकै चर्चित समाचार अनुसार दुई जुम्ल्याहाको नाम पनि भाइरसकै नाममा राखिएको थियो । छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नावालकको नाम ‘कोरोना’ र नावालिकाको नाम ‘कोभिड’ राखिएको थियो । 

उनीहरूका अभिभावक प्रीति वर्मा (आमा) र शुभ्र सिंह (बावु) ले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम त्यसरी राखेको बताएका थिए । जुम्ल्याहाकी आमाले कोरोनाभाइरस सङ्क्रमणको समयमा अस्पतालमा भर्ना भएपछि सङ्क्रमणको भयका कारण बच्चा जन्माउँदा र त्यसपछिका केही दिन निकै कठिनाइ भएको बताएकि थिइन् । १४ (मार्च २६) गते जुम्ल्याहा जन्मिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!