कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

Posted on: 14 Aug, 2020

साउन ३०, सुर्खेत | कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । 

त्यस्तै कर्मचारी र  जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पिसिआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैठकले मास्क अनिवार्य प्रयोग गर्न÷गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ । कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । 

तीन जिल्लामा सघन उपचार कक्ष थप

प्रदेश विपद् व्यवस्थापन केन्द्रले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा सघन उपचार कक्ष थप्ने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार तीनै जिल्लामा पाँचपाँच सघन उपचार कक्ष र एकएक भेन्टिलेटर थप गरिनेछ । हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा गरी ४० सघन उपचार कक्ष र १७ भेन्टिलेटर छन् । 

कर्णालीमा हालसम्म दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि ‘एक्टिभ केस’ १४५  छ । छ जनाको मृत्यु भइसकेको छ भने एक हजार ९०१ जना निको भई विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरबाट डिस्चार्ज भइसकेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!