उठाइयो सिमकोटको फोहर

Posted on: 17 Aug, 2020

भदौ १,  सिमकोट । महिनौं दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहरको थुप्रो बल्ल उठाइएको छ ।  फोहरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सरसफाइ गरेका हुन् ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत र  गाउँपालिकाका सबै शाखाका कर्मचारीको सक्रियतापछि महिनौँ दिनमा आइतबार फोहर उठाइएको छ ।  कालिञ्चोक, लोकतन्त्रचोक, बालमन्दिरचोक र काठेचुलीचोकमा थुप्रिएको फोहर  उठाइएपछि बजार सुन्दर देखिएको छ । जनप्रतिनिधि र  कर्मचारी हातमा पञ्जा र मुखमा मास्क लगाएर फोहर व्यवस्थापनमा जुटेका थिए ।

फुर्सदिला कार्यालय सहयोगी

सिमकोट गाउँपालिकामा ३६  कार्यालय सहयोगी भए पनि फुर्सदिला देखिएका छन् । गाउँपालिकाले तीन कार्यालय सहयोगीलाई   बजार क्षेत्रमा जम्मा भएको फोहर ट्रयाक्टरमा राख्ने जिम्मा दिइएको छ । बजार क्षेत्रको फोहर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । प्रत्येक शुक्रबार फोहर व्यवस्थापन गर्दा समेत  बजार क्षेत्रका उपभोक्ताले  जताततै फाल्ने गरेपछि  छिटोछिटो जम्मा हुने गरेको  प्रमुख प्रशासकीय अधिकृत रोकायाको भनाइ छ ।

सिमकोट बजार क्षेत्रमा जताततै फोहर थुप्रिएपछि सर्वसाधारण छिछी दुरदुर गर्दै हिँड्ने गरेका थिए । फोहर तत्काल व्यवस्थापन नगरिएपछि महामारी फैलन सक्ने भनी सरोकार पक्षले दुखेसो गरेका छन् । महिनौँ फोहोर व्यवस्थापन नहँुदा मानवीय स्वास्थ्यमा गम्भीर असर गर्ने सम्भावना रहेको सरोकार पक्षले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!