हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

Posted on: 07 Jun, 2021

जेठ २४, सिमकोट (रासस)। चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो । 

हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तुका लगायतको अभाव भएको हिल्सा बिओपीका इन्चार्ज केसीले बताउनुभयो । 

यारी, याल्वाङ, मुचु, केर्मीलगायतका गाउँबाट खरिद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या भएको उहाँले बताउनुभयो । 

हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा शसस्त्र प्रहरी बलको टोली यो वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको हो ।

हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरी चौकी भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपी यो वर्ष पहिलो पटक हिल्सामा बसेको हो । सीमा सुरक्षा राष्ट्रको संवेदनशील पक्ष हो  । सरकारले आफ्नो सीमा सुरक्षालाई विशेष महत्व दिएको भए पनि दुर्गम जिल्लाको सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!