हुम्लामा पर्यटकको चहलपहल बढ्यो

Posted on: 15 May, 2018

जेठ १ हुम्ला | हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरुले नेपालगञ्ज र सुर्खेतबाट बन्दोवस्तीका सामान, हेलिकोप्टरको ईन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ । केही दिनमा भरतिय पर्यटकको तिर्थ यात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ । जताततै फिक्का निला ईन्धनका ड्रम देखिन थालेका छन् । 


हेलिकोप्टर देखी विमानका कर्मचारी कमिलाले खाना ओसार्दा लागेको ताँती जस्तै देखिएका छन् । कोही सँग फाल्तु गफ गर्ने फुर्सद उनीहरुसँग छैन । मंसिरदेखी त्यती हतार नभएका कर्मचारीलाई खाना समेत खान फुर्सद नहुने दिनको सुरुवात भएको छ । 

हरेक वर्ष फाल्गुणबाट नै फाट्टफुट्ट बाह्य पर्यटकको आवागमन हुने भएको भएता पनि आन्तरिक पर्यटक भने बाह्रै महिना हुम्लामा आउनेक्रम रहेको छ । हवाई मार्गबाट आउनु पर्ने हुँदा महँगो यात्रा गर्नु परे पनि हुम्लामा आउने पर्यटकले भने निन्याउरो अनुहार लिएर फर्कन नपर्ने अवस्था रहेको छ । हिउँदमा हिउँले ढाकिएका सेता हिमाल, हिउँसँगको अनुभव लिएर नै फर्कने अवसर पाएका हुन्छन् भने वर्षा याम सुरु भएसँगै सुन्दर प्राकृतिक दृश्य हरेक वस्तु अर्गानिक पाउँदा पर्यटकको मन चँगा हुने गरेको छ ।

 विमानस्थलमा हरेक दिन पर्यटकको एक समूह हुम्ला भित्रिने गरेको छ । विमान कम्पनीले पनि बाह्य पर्यटकको हवाई भाडा राम्रो दिने भएको कारण स्थानियलाई भन्दा बढी प्राथमिकता बाह्य पयर्टकलाई दिने गरेका छन् । आन्तरिक पर्यटक वा यात्रीले नेपालगञ्जबाट ११ हजारभाडा दर भएको भए पनि २२ देखी २३ हजार सम्म बाह्य पर्यटकको दर भएकै कारण पर्यटकले हवाई टिकटमा कुनै बाधा भोग्नु परेको छैन । 

चिनको पवित्र तिर्थस्थल मानसरोवर र कैलाशको दर्शन गर्नको लागि सायद हुम्ला आउने पर्यटकले र जिल्ला बाहिरका कर्मचारीले नछुटाउने ठाउँ हो । त्यहाँ जानको लागि एक मात्र सहज गेट वे हुम्ला रहेको कारण हुम्लामा पर्यटकको भिँड हुने गरेको छ । स्थानिय तथा काठमाण्डौमा रहेका ट्राभल एजेन्सीले यहाँका स्थानिय होटेलसँग सहकार्य  गर्दै हरेक वर्ष हुम्लाबाट हजारौंको तिर्थयात्रीको टेक्ने थलोको रुपमा हुम्ला विकास भएको छ । 

हुम्लामा पुग्नको लागि सुर्खेत र नेपालगञ्जबाट एकमात्र हवाई साधनको उपयोगले सदरमुकाम सिमिकोट पुग्ने व्यवस्था रहेको छ । सिमिकोट देखी चिन र नेपालको सिमामा रहेको हिल्सामा हेलिकोप्टरको यात्रा पछि चिनको बाटोमा गाडीको यात्राबाट मानसरोवर कैलाशको भ्रमण गर्ने अवसर धेरैलाई जुर्ने गरेको छ । केही पर्यटकले हुम्लाका उत्तरी भेगका अचाईमा रहेका हिमालमा जडिबुटी, वन्यजन्तु, प्रकृती नियाल्न र अनुसन्धान गर्नका लागि समेत विताउने गरेका छन् । 

गएको आर्थिक वर्षमा हुम्लामा भ्रमण गर्ने पर्यटक १३ हजारले भ्रमण गरेका छन् । 

 जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले जानकारी दिनु भयो । हुम्लाका पर्यटकिय गन्तव्य स्थल निर्माण र विकासमा हाल स्थानिय तहले ध्यान दिन नसकेको भएता पनि यसको विकास गरी सम्वृद्ध हुम्ला निर्माणमा लाग्नु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले बताउनु भयो । आगामी आर्थिक वर्षमा हुम्लामा मोटर बाटो र पर्यटकिय गन्तव्यस्थल निर्माणमा जोड दिनको लागि जिल्ला समन्वय समितिले सुझाव स्थानिय तहलाई सल्लाह दिने रावतले जानकारी दिनु भयो । 

हुम्लामा पर्यटकले हाल उत्तरी भेगको नाम्खा र सिमिकोट गाउँपालिकालाई बढी रोजाई रहने गरेको भएता पनि प्रचार प्रसारको कमीले अन्य स्थानमा पर्यटकलाई भित्र्याउन सकिएको छैन । सिमिकोट गाउँपालिकाको वडा नं. ४ बुराउँसे गाउँमा विकास गरिएको होमस्टेलाई पनि त्यती प्रचार प्रसार र प्रवद्र्धन गर्न सकिएमा पर्यटकलाई लोभ्याउन सकिने यहाँका जानकारहरुको भनाई रहेको छ । हुम्लामा यस पटक भने मौसम परिवर्तनको कारण वर्षा अगाडी नै सुरु हुँदा साउन महिनाको महशुस भएको धेरैको भनाई रहेको छ । वातावरण भने चिसो नै रहेको भएता पनि हाल हुम्लामा हरियाली भने ह्वात्तै बढेको छ । 

उत्तरी हिमालको खोँचमा सयौंको संख्यामा रहेका हिमताल, हिमताल आसपासका क्षेत्रमा रहेका वनस्पती, चराचुरुङ्गी, फुल यहाँको अध्ययन गर्नको लागि भने पर्यटकको राम्रो आकर्षण रहने गरेका छ । यहाँ जंगली चौंरी गाइ, कस्तुरी, घोरल र अन्य वन्यजन्तुको अवलोकन प्रत्यक्ष गर्न सकिने भएर पनि हुम्ला पर्यटकको लागि गन्तव्य स्थलको रुपमा विकास हुँदै आएको छ । उत्तरी गाउा लिमी उपत्यका, विभिन्न चैत्य तथा गुम्बा, हिमताल, सेतै हिमाल, यहाँको संस्कृती चालचलन, मन्दिर, लुकेका वास्तविकता, स्वच्छ हावापानी हुम्लाको पर्यटनका क्षेत्र हुन् । जटिबुटीको अध्ययनका लागि पनि हुम्लाको पर्यटन विकासको आधार बन्न गएको छ । 

सयौंको संख्यामा भएको जडिबुटीको अध्ययन गर्नको लागि पनि पर्यटकको आवागमन हुम्लामा हुने गरेको छ । लामो विदा मनाउन पैदलयात्राको क्रममा समय रमाईलो विताउनको लागि पनि हुम्ला आकर्षणको  विन्दु रहने गरेको छ । 

पर्यटकहरुको अवागमनलाई ध्यान दिएर स्थानिय स्तरमा भएको होटेलको वृत्ती विकास गर्न सकिएमा अझ बढी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । हाल सम्म हुम्लाकै स्थानियवासी पर्यटकको गाईड भएर आउनेको संख्या न्यून रहेको छ । पर्यटकसँगै समूहमा काम गर्ने कुक, सहयोगी बाहेक जनशक्ति नहुँदा अझ रोजगारीको अवस्था बढ्न सकेको छैन । स्थानिय खच्चर व्यवसायीले पनि हरेक क्याप्पको लागि सामान ढुवानी गरेवापत राम्रो आम्दानी गर्ने गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!