किसानलाई अनुदानमा हाते ट्रयाक्टर

Posted on: 07 Jul, 2017

असार २३, इलाम । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । 

कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा सो ट्रयाक्टर वितरण गरेको हो । कार्यालयले कृषि कार्यक्रमबाट पाँच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटासहित जम्मा ३५ वटा ट्रयाक्टर उपलब्ध गराएको हो । 

खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताउनुभयो । 

यसैबीच विभिन्न संस्था र समूहका कृषकलाई ७५ प्रतिशत अनुदानमा ८०० किलोग्राम धानको बीउ शत्प्रतिशत अनुदानमा ४०० किलोग्राम उन्नत जातको धानको बीउ उपलब्ध गराएको कार्यालयका योजना अधिकृत तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो । इलाममा १५ हजार ९१५ हेक्टरमा धान खेती हुँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!