कृत्रिम गर्भाधान सँगै किसानको आर्थिक जीवनस्तरमा सुधार

Posted on: 01 Feb, 2018

माघ १८, इलाम | जिल्ला पशुसेवा कार्यालयले थालेको कृत्रिम गर्भाधान अभियानले दूध उत्पादन बढ्न गई किसानको आर्थिक जीवनस्तर सुध्रन थालेको छ । 

आव २०७३÷७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो । 

पशुलाई कृत्रिम गर्भाधान गराउन किसान आजभोलि पशुसेवा प्राविधिकलाई सम्पर्क गर्न थालेका छन् । कृत्रिम गर्भाधानले दूध उत्पादन बढ्दै गएको किसानको भनाइ छ । गर्भाधानका लागि गाईलाई थला सार्नु नपर्ने, सजिलो हुने, समयको बचत हुने र चाहेको जातको सिमेन मगाई बाँच्छाबाँच्छी चाहेकै जातको उत्पादन गर्न सजिलो हुने भएकाले कृत्रिम गर्भाधान गर्न थालिएको हो । यसरी उत्पादन गरेको प्रजननयोग्य बाच्छी गाउँ तथा छिमेकी जिल्लामा बिक्री गर्ने गरेका छन् । 

जिल्लामा झण्डै ३५ वर्ष अगाडिदेखि नै कृत्रिम गर्भाधान शुरु भए पनि चार वर्ष अघिदेखि जिल्ला पशुसेवा कार्यालयले थालेको अभियानको प्रभावले नश्ल सुधारसँगै दूध उत्पादनसमेत बढ्न थालेको पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्की बताउनुहुन्छ । जिल्लामा दर्ता भएका र नभएका गरी २०० भन्दा बढी दुग्धजन्य उद्योग रहेका छन् । 

जिल्लामा आव २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको थियो भने आव २०७२÷७३ मा एक लाख २१ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएको थियो । सरदर प्रतिलिटर रु ३८ देखि रु ४५ का दरले दूध बिक्री भएको छ । दूध बिक्रीबाट रु चार अर्ब ७० करोड ६० हजार किसानले आम्दानी गरेका छन् । जिल्लामा उन्नत जातको करिब ४० हजार दुधालु गाई रहेको कार्यालयले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!