दुई महिना नपुग्दै पुल भत्कियो

Posted on: 31 Jul, 2017


साउन १६, इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । 

वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भाँचिएपछि उनीहरू आक्रोशित बनेका हुन् । “योभन्दा हद हुने ठाउँ छैन,” स्थानीय बासिन्दा चेतन आंथुपोले भन्नुभयो, “एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनि एकैचोटिको बाढीले भत्कियो”, सरकारी पक्षको लापरबाहीले गर्दा चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनु परेको उहाँको भनाइ छ । 

नवनिर्मित पुल २०४ मिटर लम्बाइको थियो । झोलुङ्गेपुल महाशाखा काठमाडौँको रु ७० लाखको लागतमा पुल निर्माण भएको पुल रेखदेख समितिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । 

तीन फिट मात्र गाडिएकाले पुलको पूर्वपट्टिको एउटा पिल्लर भासिएको छ । “ठेकेदारलाई पिल्लर गहि¥याएर गाड्नुभन्दा तीन फिटभन्दा लैजान नमानेकाले अहिले पुलको यो अवस्था भयो”, उहाँले भन्नुभयो । 

“स्टिमेट नै गलत थियो । त्यत्रो खोला देख्दादेख्दै कसरी बीचमा पुल बनाइयो ?”, पूर्वगाविस अध्यक्ष ओमनारायण खनालले भन्नुभयो । पुलका बारेमा आगामी गाउँसभामा छलफल चलाउने अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो । 

चुलाचुली गाउँपालिका–३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन उक्त पुल तर्नुपर्छ । ती वडाबाट गाउँपालिकाको एक मात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल जरुरी छ । 

खोला तर्न नसकेर प्रत्येक बर्खामा दुई महिना जति विद्यार्थीको पढाइ अवरुद्धसमेत हुँदै आएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!