इलामामा दुई सय बीस पर्यवेक्षक खटिए

Posted on: 27 Jun, 2017

असार १३, इलाम । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा २२० पर्यवेक्षक खटिएका छन् । 

मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि २६ वटा संस्थाले अनुमति लिएका छन् । अनुमति लिएका संस्थामार्फत पर्यवेक्षक निर्वाचनमा खटिएका हुन् । 

निर्वाचन पर्यवेक्षण गर्नका लागि धेरै संस्थाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये पाँच संस्थाले जिल्लामा एक÷एकजनाका दरले मात्रै पर्यवेक्षक खटाएका छन् । निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि पर्यवेक्षक परिचालन गरिन्छ । 

राष्ट्रिय युवा महासङ्घ, नेफिनले आठ जना, बहिर्गमित पूर्वलडाकु नेपालले २६ जना, सङ्कल्प शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले २३ जना, नेपाल मानवअधिकार सङ्गठनलले ३१ जना तथा प्रजातान्त्रिक विचार समाजले नौजना पर्यवेक्षक परिचालन गरेको बताइएको छ । 

निर्वाचनको तयारी पूरा 

बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । चार नगरपालिका र छ गाउँपालिकामा एक लाख ८९ हजार २७४ मतदाता रहेका छन् । जिल्लाका १४४ मतदानस्थलका २४९ मतदान केन्द्रमा दुई हजार २५५ कर्मचारी निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत दाहालले जानकारी दिनुभयो । 

निर्वाचन सुरक्षाका लागि एक हजार ८०० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी र ६०० नेपाली सेना परिचालन गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!