इलाममा तीन करोड ३८ लाखमा विद्याश्रम निर्माण सुरु

Posted on: 03 Feb, 2017

माघ २१, इलाम । भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ । 

दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४ कोठे भवन निर्माण सुरु भएको हो । भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रममा भवन निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गरेको हो । इलाम सदरमुकामस्थित बिरूवा कन्स्ट्रक्सन/भगवती निर्माण सेवा जेभीले जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिनुभयो । 

विसं २०६५ सालमा स्थापित विद्याश्रममा बाल कक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । एकसय २० विद्यार्थीमध्ये आवासीयरूपमा अध्ययन गर्ने विद्यार्थी ७० जना छन् । व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन् । “ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो,” प्रधानाध्यापक दाहालले भन्नुभयो, “भवन बन्ने भएपछि चिन्ता हटेको छ ।” 

स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केहीपछि बरबोटेमा सारिएको हो । स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ । 

संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो । “जमिनको व्यवस्था गरेपनि भवनको अभावले समस्यामा थियौँ”, केन्द्रका उपाध्यक्ष गोविन्द पौडेलले भन्नुभयो, “दूतावासको सहयोगले थप हर्षित भएका छौँ ।” 

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विद्याश्रमको बुधबार शिलान्यास गर्नुभएको हो । १५ महिनापछि निर्माण सम्पन्न हुने भवन आवासीय सुविधासहितको हुने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!