सीमा नाकाबाट पाँच महिलाको उद्धार

Posted on: 21 Mar, 2017

चैत ८, इलाम । माइती नेपाल, पशुपतिनगरले अवैध तरिकाले भारत लैजान लागेका पाँच जना महिलाको सीमा नाकाबाट उद्धार गरेको छ । 

मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती नेपाल, पशुपतिनगरका कार्यक्रम संयोजक होम ढकालले जानकारी दिनुभयो । 

माइती नेपालका अनुसार उद्धार गरिएका सबै महिला गोरखाको उहियाका रहेका छन् । महिलालाई कुवेत र पाकिस्तानमा रोजगारीका लागि लैजाने भनेर एकै दिनमा काठमाडौँबाट राहदानी बनाई ल्याइएको ढकालले बताउनुभयो । 

भारतीय प्रहरी र स्थानीय महिलाको सहयोगमा माइती नेपाल पशुपतिनगरले ती महिलालाई उद्धार गरेको हो । महिलालाई छब्बिसेको बाटो भएर आउनु भारतमा लिन आउँछु भनेकाले दलाल भने पक्राउ गर्न नसकिएको माइती नेपालले जनाएको छ । 

उद्धार गरिएका महिलालाई माइती नेपाल पशुपतिनगर आवधिक गृहमा राखेर आफन्तको जिम्मा लगाइने संयोजक ढकालले बताउनुभयो । 

गुरूङ मृत फेला 

यसैबीच, इलाम सन्दकपुर गाउँपालिका–४ मावुका एक व्यक्ति सोमबार मृत अवस्थामा भेटिएका छन् । 

स्थानीय ५३ वर्षीय गणेश गुरूङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गुरूङलाई स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । 

गुरूङ बाटो छेउमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घाँटी छेउमा चोटपटक लागेको अवस्थामा शव फेला परेकाले लडेर मृत्यु भएको वा हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!