अस्पतालको शैयामा छटपटाउँदै सनम, सहयोगको लागी अपिल

Posted on: 12 Jul, 2018

असार २८, इलाम | दुवै मिर्गौला काम नलाग्ने भएपछि इलाम नगरपालिका–८ का सनम तामाङ अस्पतालको शैयामा छटपटाइरहेका छन् । २४ वर्षको उमेरमा दुवै मिर्गौला काम नलाग्ने स्थितिमा पुगेपछि उनी अहिले विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत छन् । 

आर्थिक अवस्था एकदमै कमजोर भएकाले उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । उनको उपचारका लागि अस्पतालले रु १५ लाख खर्च लाग्ने भनेपछि उनकी आमा हर्कमाया तामाङ चिन्तित हुनुहुन्छ । “छोराको उपचारका लागि सहयोग जुटाउँदै हिँडिरहेकी छु”, हर्कमायाले भन्नुभयो, “छोराको उपचारका लागि मेरो र श्रीमान्को नाममा भएको १३ रोपनी जग्गा सकियो, अझै पनि ठीक भएको छैन ।” 

जग्गा बिक्री गरेर छोराको उपचार गरे पनि अझै निको भएको छैन दुखेसो पोख्दै हर्कमायाले भन्नुभयो, “बज्रपात पनि गरिबलाई मात्र पर्दाेरहेछ ।” उपचारका लागि स्थानीय सहकारी संस्थाबाट डेढ लाख रूपैयाँ ऋण लिइसक्नुभएको छ सनमको परिवारले । ऋण माग्दा पनि अहिले कसैले नपत्याउने स्थितिमा पुगेको हर्कमाया बताउनुहुन्छ । 

भक्तबहादुरका तीन भाइछोरा र दुई बहिनी छोरी छन् । सनम कान्छा हुन् । 

सनमकी श्रीमती पनि उनी बिरामी परेपछि परिवारसँग सम्पर्कविहीन छन् । श्रीमान्लाई अस्पताल लिएर गएकी बुहारी अस्पतालबाटै सम्पर्कविहीन भई हर्कमायाले भन्नुभयो । सनमलाई ११ दिनसम्म आइसियुमा राखिएको थियो । आइसियुमा राख्दा धेरै खर्च लाग्यो, ऋण तिर्ने कुनै उपाय छैन, आमा हर्कमायाले भन्नुभयो । परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खाता नम्बर २२५००२१९१११० मा खाता खोल्नुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!