ईलामको गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

Posted on: 26 Nov, 2018

मङ्सिर १०, फिक्कल (रासस) | इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । 

पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो । 

गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र बढी पर्यटन भित्र्याउने कार्यमा यस अभियानले सार्थकता पाउने उहाँको भनाइ छ । 

यसअघि शेर्पाले इलाम र पाँचथरका विभिन्न डाँडामा समेत सम्भावना उडान गरिसकेको बताउनुभयो । देउमाई नगरपालिकाको गुफाथुम्की र सिद्धिथुमकाबाट प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिएको वडाध्यक्ष बाँस्तोलाले बताउनुभयो । गुफाथुम्कीबाट सफल भएको प्याराग्लाइडिङ अब सिद्धिथुम्काबाट पनि परीक्षण गरिने जनाइएको छ । 

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले प्याराग्लाइडिङले यस क्षेत्रमा धेरै पर्यटक भित्रिने भएकाले यसमा नगरपालिकाले सक्दो सहयोग गरिने बताउँदै पर्यटन व्यवसायीलाई सृजनशील र नयाँ व्यवसायको खोजी गर्न पनि सल्लाह दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!