स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि डा केसी अस्पताल भर्ना

Posted on: 14 Jan, 2019

पुस ३०, पशुपतिनगर |  चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । १६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उहाँलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो । 

डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताउनुभयो । अस्पताल भर्ना गरिएपनि डा केसीले औषधि भने लिन मान्नु भएको छैन । 

वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताउनुभयो । डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा हुनुहुन्छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!