'खाद्य सम्प्रभुता अधिकार ग्यारेण्टीको लागि नेपाल बन्द'

Posted on: 12 Nov, 2016

नेकपा माओबादीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामासंग भोलि (आइतबार) गरिएको नेपाल बन्दाबारे दिपेन्द्र रावलले गरेको कुराकानीको केहि अंश:

तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो किन ? 

राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थियौँ । भेटमा जिम्मेवारपूर्ण अभिब्यक्ति दिएका प्रधानमन्त्रीले व्यवहारमा गैरजिम्मेवार बनेपछि नेपाल बन्द गर्नु परेको हो । 

बन्द गरेपछि राज्यले तपाईँहरुको माग पूरा गर्छ त ? 

राज्य आफ्ना नागरिकप्रति जिम्मेवार हुनैपर्छ । नागरिकको बाच्ने अधिकारको रक्षा गर्नुपर्ने हो तर राज्य गैरजिम्मेवार छ । हामीले नागरिकको तर्फबाट राज्यलाई जिम्मेवार बनाउन उद्देश्यले बन्दको आयोजना गरेका हौँ । आफ्नो अधिकारको लागि नागरिकको शान्तिपूर्ण संघर्षको उच्च रुप बन्द हो । हामीले त्यही शान्तिपूर्ण आन्दोलनको उच्च रुप अपनाएका हौँ । 

यदि राज्य अझ पनि जिम्मेवार नभए नागरिकले नेपाल बन्दभन्दा ठूलो संघर्षको रुप अपनाउन बाध्य हुनेछन् । 

तपाईँका एजेण्डा ठिकै भएपनि बन्दको विकल्पमा कुनै अर्को संघर्षका कार्यक्रम गर्न जनताको मागलाई बेवास्ता गर्नुभयो नि ? 

जनताको गुनासोसँग हामी पनि सहमत छौँ । यो बन्दको आयोजना गर्नुभन्दा हामीले पार्टीमा बहस–छलफल गरेका थियौँ । गैरजिम्मेवार राज्यलाई यो भन्दा अर्को संघर्षका कार्यक्रममा नछुने भएका कारण नेपाल बन्द गर्न बाध्य भएका हौँ । यो कुनै ब्यक्ति वा समूहको विषय नभएर आम नागरिककै अधिकारसँग सम्बन्धित विषय हो । 

अर्को कुरा नागरिकले एक दिनको दुःखले अधिकार पाए भने त सधैको लागि हुन्छ । त्यसैले राज्यलाई दवाव सिर्जना गर्न आइतबारको नेपाल बन्द सफल पार्नुपर्छ । 

खाद्य सम्प्रभुता त एनजिओ र आइएनजिओहरुले पहिले नै उठाएको विषय हो । तपाईँहरुले प्रचारको लागि यो विषय उठाउनु भएको भन्ने आरोप छ के भन्नुहुन्छ ? 

त्यो गलत हो । एनजिओ र आइएनजिओले त नागरिकका नाममा डलर ल्याउने र नयाँ धनाढ्य बन्ने उद्देश्यले खाद्य सम्प्रभुता विषय उठाइरहेका छन् । यो राज्य वा राजनीतिक पार्टीहरुले उठाए मात्र समाधान हुने विषय हो । त्यसैले एनजिओ र आइएनजिओहरु पहिलो उठाए पनि अहिलेससम्म समस्या उस्तै छ । नागरिकलाई केही राहत भएको छैन । 

प्रचारको लागि यो विषय उठाए भन्दा हामीमाथि अन्यय हुन्छ । सरकारले खाद्य सम्प्रभुताको ग्यारेण्टी गरेको भए उसैको प्रचार हुन्थ्यो । अथवा सरकारमा रहेका राजनीतिक पार्टीहरुले उठाएपनि त हुन्थ्यो नि । उहाँहरुकै उहाँहरुकै लोकप्रियता बढ्ने थियो । राज्य र राज्य संचालन गरिरहेका राजनीतिक पार्टीहरुल अलपत्र छाडेर नागरिकलाई हैरानी पारेका कारण हामीले उठाउन बाध्य भएका हौँ । 

बन्दबारे केही भन्नु छ ? 

हामीले नागरिकको दैनिक जीवनसँग जोडिएको विषयमा नेपाल बन्द गर्न लागेका छौँ । एक दिनको दुःखभन्दा अधिकार ठूलो कुरा हो । नागरिकको बाच्न पाउने आधारभूत अधिकार प्राप्तिको लागि विहान पाँच बजेदेखि साँझ पाँचसम्म नेपाल बन्दसम्म आयोजना गरिएको नेपाल बन्दमा सबैको सहयोगको अपेक्षा गरेका छौँ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!