मदन राईलाई ९ प्रश्न, उनी भन्छन् ‘प्रचण्डले नेतृत्वलाई निमोठ्छ’

Posted on: 01 Nov, 2017

चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | नयाँ शक्ति पार्टी खोटाङवाट आगामी मंसिर १० गते हुन गईरहेको आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गत कार्तिक ५ गते मनोनयन दर्ता गराई सदरमुकाम दिक्क्तेलस्थित आचार्य टोलवाट घरदैलो चुनावी अभियानमा लागेका कृषि वैज्ञानिक मदन राई यतिवेला चुनावी महासंग्राममा होमिएका छन् ।

जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राई खोटाङ जिल्ला अन्तरगत आसन्न प्रतिनिधि सभा र प्रदेशसभा चुनावको हकमा सवैभन्दा पाको उमेरका कृषि वैज्ञानिक हुन् । जिल्लाका ७९ वडाका घर–घरमा कार्यकर्ता मार्फत विउ वितरण पश्चात राई यतिवेला आफुले खोलेको शुभम–फाउण्डेशनका विधार्थी तथा कार्यकर्ताको सहायतावाट घरदैलो अभियानमा छन् । चुनाव जित्न कसरतमा जुटेका उनी उमेरले ६८ वर्षका हुन् ।

विश्वका सत्तरीभन्दा वढि मुलुकको अर्थतन्त्र र विकासको जानकार, खोटाङ विकास मञ्च, नाहिमा कृषि स्रोत केन्द्र, शुभम–फाउण्डेशन विद्धालयका लगानीकर्ता, मनमाया राई खानीडाडाँ विमानस्थल, खोटाङको विकास र संमृद्धिको अवधारणा दिन सक्ने, राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्ति हुन ।

जनजातीका अर्थिक संमृद्धि, वैज्ञानिक एवं प्राविधिक रुपले अत्यन्त चुस्त दुरुस्त कार्यक्रम कार्यन्वयन गर्न सक्ने क्षमता भएका र विभेदरहित व्यवहारका धनी तथा खोटाङगे जनताका मात्रै नभई नेपालकै सम्पत्तीका रुपमा चिनिएका राई खोटाङगे जनताका लागि फ्रेस नेता हुन् ।

मुस्ताङमा खाईरहेको जागिरको मोह त्यागी २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनाव लड्न ०४१ सालमा सोलुखुम्बुको फाप्लु विमानस्थल हुंदै खोटाङको जलेश्वरी लगायतका उत्तरी गाविसहरुमा ३ महिना भोट माग्दै हिडेका राईलाई सरकारले त्यो वेला राजिनामा स्वीकृत नगर्दा चुनाव लड्न पाएनन् । चुनावी रन्कोमा थच्चिएर बसेका उनी जागिरवाट रिटार्यड भई देशमा भएका वेतिथि र पुराना ढर्रालाई चिर्नका लागि ०४१ साल यताकोे शक्ति र वुद्धि लिएर चुनावमा अहोरात्र खटेका छन् । 

राज्यको ढुकुटी रित्याएर पैसा, मासु, रक्सी खुवाई कार्यकर्ता खुशी पारेर चुनाव जिताउँन कसरत गरिरहेका प्रतिस्पर्धीलाई बधाई दिंदै चुनाव जित भन्दा सहभागी हुनु आफ्नो पहिलो शर्त रहेको बताउँने नयाँ शक्तिका उम्मेदवार राईका चुनावी रणनीति के–कस्ता छन् । प्रतिनिधिसभा निर्वाचनका पेरीफेरीमा रहेर उहाँलाई सोधिएको प्रश्नको संम्पादित अंश ।                       

१. जिल्लाबाट प्रतिनिधिसभाका लागि तपाईसंगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ । त्यो भिडमा मदन राई को हो ?

हास्दै..मदन राई ६८ वर्षिय जेष्ठ नागरिक हो । साकेला गाउँपालिका–२ रतन्छामा जन्मिएको नेपालको उच्च शिक्षा प्राप्त गर्ने व्यक्ति, ७२ मुलुकको सामाजिक रहनसहन बुझेको मान्छे हुं । पाँच पैसा नभएको मान्छे भए पनि प्रशस्त सम्पत्ती कमाएको र सवैभन्दा धेरै संसार घुमेको मान्छे हो । धर्तीमा वाँचेका मान्छे मध्येमा उनले चाहेको कुरा पुरा भएको मान्छेजस्तो लाग्छ । 

२. किन पाको उमेरमा चुनाव लड्न आउनुभयो ? कहाँवाट मोह लाग्यो चुनावमा होमिन ?

राणाकालमा जन्मिएको पञ्चायतकालमा हुर्किएर काम गरेको, त्यसपछि बहुदल २०४६ पछि शासनमा वसेको, अहिले गणतन्त्रमा मेरो कार्यकालमा चारवटा शासन व्यवस्था फेरिए । १५ वर्ष संयुतm राष्ट्र संघमा कामको शिलसिलामा १२ मुलुकमा देखेको अनुभव जस्तो, नेपालको राजाका निरंकुश शासन, सद्धाम हुसेनको राष्ट्रपतीको निरंकुश शासन, जिलुर्यस निरेर्यसको माक्सवादी शासन, मारकोषको राष्ट्रपतीय शासन, अमेरिका, युरोप सिंगापुर, जापानका लोकतान्त्रिक शासन हेरेपछि लोकतन्त्रमा चुनाव महत्वपुर्ण हुने लोकतन्त्रले असल नेता छान्ने हुन्छ । त्यही नेताले देशलाई विकास तथा संमृद्धी र जनतालाई सुख, शान्ती दिने हुनाले चुनावमा उठ्न मन लागेको हो । 

३. जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउका विउँ वाँड्न लगाएर भोट माग्नु भयो । किन विउँ नै वाँड्नु भएको अन्य उपाय थिएन ? 

संसारमा भएका जिवजन्तु मानिस, फलफुल हरेकको उत्पत्ती विउवाटै भएको भन्ने अज्ञानता अझै जिवित छ । त्यही अज्ञानता तथा विउँले नै संसार शासन गरेको छ । नेपालवाट खानेकुराको विउँ मासिसकेको उदाहरण प्रशस्त रहेको छ । मानौं विउँ आयत हुने देशले ६ महिना मात्रै हैन १ दिन मात्रै नाकावन्दी लगाईदियो भने ? अर्थतन्त्रमा ठूलो घाटा हुन्छ । त्यसकारण सवै किसानले विउँ फैलाउनुपर्छ भन्ने उद्देश्यले वाँडेको हो । तर, कतीपय मिडियाका साथीहरुले भ्रामक प्रचार गरेका छन् । हुलमुलमा जिउँ जोगाउँनु  अनिकालमा विउ, नेपालमा विउँको अनिकाल सुरु भईसकेको छ त्यसैलाई जोगाउँन यति मात्रै विउँ वाडेका हौ । भोट माग्न हैन । 

४. अहिले अधिकांश भोटहरु रक्सी, मासु र पैसामा विक्छन् तपाईले किन त्यो नगर्नु भएको ? विउँमा भोट दिन्छन् जनताले ? 

विउँ, विजन लगाए पुस्तौपुस्ता पुग्छ । रायो, मुला, केराउका विउँ उमारेर फलाएमा ३ महिना भोज खान्छन् प्रत्येक किसानले तर, जाँड, रक्सी सबैले खाना पाउँदैन । २ हजार कार्यकर्ताले खान्छन् होला तर, भोटरहरु सवा लाख छन्, उनीहरुले त खान पाउँदैनन् ? हामीले चाँहि सवा लाख मान्छे कम्तीमा एक सिजन खान पाउँन भनेर दिएका हौ विउँ राखे पछिका सन्तानले पनि पुस्तौपुस्ता खाना पाउँछन् । स्थायी रुपमा भोज खान पाउँने भनेर विउँ वाडेका हौ । अब, कुरा आयो विउँमा भोट दिन्छन् भन्ने ? मलाई कुनै मोह छैन भोट दिनु नदिनु जनताको मर्जी हो ।

५. निर्वाचन आचार संहिता विपरीत नयाँ शक्तिले विउँ वाडदै छन् भन्ने हल्ला छ नि ?

म विउँको विशेषज्ञ हो । विउँ मात्रै हैन किसानले मलाई सहयोग माग्छन् । मदन सर यहाँ किरा लाग्यो के गर्नु भन्छन् । आचार संहिताले दिदैन किरा खादै गर भन्नु ? रोग लाग्या छ के गर्नु भन्छन् हैन, त्यो आचार संहिताले दिदैन मर्न देऊ तिम्रा गाईवस्तु, सागसव्जी भन्नु हाँस उठ्छ । ए, वावा गलत काम नगर, भोज नख्वाउ पो भनेको त राम्रो काम त गरोसन, मेरा प्रर्तिस्पर्धी साथीहरुले जनताका लागि सडक वाटो निर्माण गरिदियोस त्यो गलत हैन के ? राम्रो काम सवैले गरुंन न मैले, विउँ वाडेर भोट मागेकै छैन । मैले त विउँ रोप मासिन नदेउ मात्र भनेको छु । 

६. मनोनयन पछि घरदैलो अभियानमा हुनुहुन्छ ? नतिजा कस्तो पाउनु भएको छ ?

कस्तो गज्जव ! सुरुमा आचार्य टोल, बहुमुखी क्याम्पस, हाँटडाडा, नुनथला, वुईपा, अर्खौले गयौ म त उहाँहरुका लागि धेरै वर्ष अघिवाट चिनेको मान्छे परे कसैले हुन्न त भनेकै छैन । सवैले साथ र हौसला दिए, यतिसम्म कि अरु दलका नेताहरु पनि सौर्हादपुर्ण व्यवहार गरेका छन् । म त यति खुशी छु कि मैले त अहिलेनै जनताको काम पाईसकेको छु । 

७. खोटाङको हकमा उमेर हदबन्दीमा तपाई सवैभन्दा पाको उमेरका हुनुहुन्छ ? उमेरका हिसावले अहिलेका प्रर्तिस्पर्धीहरु तपाईका भाईहरु हुन् । तर, खोटाङको हकमा राजनीतिमा तपाईभन्दा अब्बल ठहरिएका चुनावी मैदानमा आएका छन् उनीहरुसंग चुनावी भिडन्त गर्न सक्नुहुन्छ । 

उनीहरुभन्दा उमेर र विज्ञमा पनि जेठो हुँ, २०४१ सालमा राष्ट्रिय पञ्चायतको चुनावका लागि गाउँ,गाउँ घर,घर भोट माग्दा कोहीकोही त जन्मेका थिएनन् । अहिले जुन तपाईले भन्दै हुनुहुन्छ नि,उनीहरु सक्षम छन् भनेर हैन, उनीहरु त जन्मेका नै थिएनन् ।

सोलुवाट देम्लीटार हुंदै साविकका ७६ गाविस नविसाई वोपुङ निस्केको छु । अहिलेका उम्मेद्वार कसैले पनि ७६ गाविस घुमेका छैनन् । किटानका साथ भन्छु । २०४१ सालपछि घर–घर डुलेको छु । म त फेस टु फेस पुगेको छु, डुलेको छु उनीहरु त पैसा दिएर कार्यकर्ता मात्रै लगाएका छन् । कार्यकर्ता भनेको असाध्यै खराव प्रणाली हो । कार्यकर्ताले भ्रष्टचार वाहेक अरु गदैनन् । ७५ जिल्ला पैदल हिडेको छु कसैले हिडेका छन् ? छैनन् । नेपालमा सवैभन्दा वढि पढ्ने मान्छे नै म हो दावि गर्छु अरु छैनन् । चुनावी भिडन्त भनेको त फरक कुरा हो ।

८. खोटाङमा नयाँ शक्ति पार्टीको कार्यकर्ता नै छैनन्, मदन राई आफै झोला वोकेर हिड्छन् अनि ब्याक सपोर्टमा आफैले खोलेका शुभम–फाउण्डेशनका विधार्थी प्रयोग गर्छन  भन्छन नि ?

मैले शुभम फाउण्डेशन नामक विद्धालय खोलेकै लिडरसिप वनाउँन हो । सानो किसान वनाउँने, मेकानिक बनाउँने हैन यो देशको शासन र सेवा गर्नलाई विद्धालय वनाएको हो । चुनावमा उठ्नु मेरो मुल कारण नै उनीहरुलाई लिडरसिप सिकाउनु हो । यो निर्वाचन भनेकै उनीहरुको लागि हो । अवको ५ वर्षदेखी १०÷१५ वर्ष भित्रमा खोटाङमा मात्र नभई नेपालको धेरै जिल्लामा यो स्कुलकै विधार्थी नेता र प्रधानमन्त्री हुन्छ हेरीराख्नुस । म वाँच्छु त्यो वेलासम्म ? मेरो ध्येय त आफ्नो लागि हैन उनीहरुको लागि हो । हामीले त श्रम शोसन हैन श्रम सिकाउँदै छौ । चुनावमा प्रयोग गरेको हैन । 

९. अन्त्यमा, मदन राईलाई नै भोट दिनुपर्ने कारण के हो ?  

देशको संमृद्धि, खोटाङ वनाउँनका लागि, हलेसीलाई धर्मको त्रिवेणी वनाउँन गुरु योजना अनुसार काम गर्न, धर्मको त्रिवेणीलाई विश्वमा ख्याती कमाई पैसा कमाउँन, अर्गानिक खेतीलाई मजबुती, सुख्खा क्षेत्र हलेसीमा वृक्षरोपन गर्न, अवको २० वर्षमा हरेक किसान र युवालाई करोडपती बनाउँन, दिक्तेललाई नेपालको सवभन्दा सुन्दर नगर र जनताको कामदार वनाउँन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!