ओमानमा रहेका नेपालीहरु सुरक्षित छन्, समस्यामा परे दुतावासमा सम्पर्क गर्नुस् : राजदुत, ढकाल

Posted on: 11 Apr, 2020

चैत्र २९, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्य मुलुकहरु मध्ये ओमान पनि एक हो । वैदेशिक रोजगारीको शिलशिलामा हाल ओमानमा करिब १७ हजार नेपालीहरु कार्यरत रहेको सरकारी तथ्यांक छ । 

हाल विश्वभर कोरोना भाइरसका कारण श्रम बजार पनि प्रभावित बन्न पुगेको छ । कोरोना भाइरसको प्रभाव ओमानमा कस्तो रहेको छ ? नेपालीहरुको समस्या समाधानमा ओमान स्थित नेपाली दुतावासले कसरी काम गरिरहेको छ भन्ने सन्दर्भमा ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालसंग साझा सबालका लागि मनोज पराजुलीले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

ओमानमा अहिले कोरोना भाईरसको संक्रमणको अवस्था कस्तो रहेको छ ?

हालसम्म ओमानमा ५ सय ४६ जनामा संक्रमण भएको पाइएको छ । ३ जनाको मृत्यु भएको छ भने १०९ जनाले पुनः स्वास्थ्य लाभ प्राप्त गरेका छन् । संक्रमण भएका मध्ये एक जना डेढ वर्षको बालकलाई पनि संक्रमण भएकोमा हिजो स्वास्थ्यलाभ गरेका छन् । 


हाल ओमानमा कति नेपाली श्रमिक कार्यरत छन् ? उनीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् ?

ओमानमा रहनु भएका करीब १७ हजार नेपाली नागरिकहरू सुरक्षित हुनुहन्छ । विशेष गरी राजधानी आसपासका क्षेत्रमा केहीको काम बन्द छ, भने अन्य क्षेत्रमा काममा खासै कमी आएको छैन । काम गर्ने सिफ्ट मिलाएर तथा संख्यामा तलमाथि गरेर काम सुचारू गरिएको जानकारी प्राप्त भएको छ । विशेष गरी कम्पनी र सुपर मार्केटहरू सुचारू छन् । क्लीनिङ सानातिना रेष्टुरेन्ट तथा हस्पिटलिटी क्षेत्रमा काम गर्नेहरूको हकमा भने काम रोकिएको अवस्था छ ।

हालसम्म कोरोनाका कारण ओमानमा कोहि नेपाली संक्रमित भएका छन् कि, छैनन् ?

आजसम्म २ जनाले कोरोनाको संक्रमण भएको शंका गर्नु भएको भए पनि पछि चिकित्सकसँग परामर्श गर्दा उक्त रोगको लक्षण नभएर सामान्य स्थिति भएको जानकारी गराएकोमा उपचार पछि आफ्नो नियमित काममा फर्किनु भएको छ ।

अन्तराष्ट्रीय श्रम संगठन (आइएलओ)ले समेत कोरोना भाइरसका कारण विश्वभर धेरै संख्यामा रोजगारी गुम्ने प्रक्षेपण गरेको छ, यस्तो अवस्थामा ओमानमा रहेका नेपाली श्रमिकको रोजगारी गुम्ने जोखिम कस्तो छ ? गुमाउने अवस्था छ छैन ?

अहिले नै केही भन्ने स्थिति छैन । विशेषगरी यो अवस्था कति लम्बिन्छ भन्ने कुराले फरक पार्छ । तर पनि केहि समस्या भने पक्कै आउनेछ । विशेषगरी यो आर्थिक वर्षबाट १ जनवरी २०२० बाट शुरू गर्ने भनिएको सरकारी आयोजना हाललाई अघि नबढाउन निर्देशन जारी भएको छ । त्यसैगरी सानातिना व्यवसायमा काम गर्नेहरूलाई केही असर पर्न सक्छ । तर वहुराष्ट्रिय कम्पनी तथा ठुला पुँजी भएका कम्पनीमा काम गर्ने कामदारहरूको रोजगारी गुम्ने सम्भावना कमै छ ।

यी सबै जोखिमका लागि दुतावासले कसरी समन्वय र सहयोग गरिरहेको छ ?

नेपाली दूतावास ओमानले अहिले परिस्थितिको मुल्यांकन गरिरहेको छ, भने यस विषय हेर्ने नेपालका निकाय लाइन मिनिस्ट्री तथा ओमानमा भएका समकक्षीहरूसँग सल्लाह गरेर कार्ययोजना बनाउने तयारी गरिरहेको छ । 

नेपालीलाई परेका समस्या बारे दुतावासले कसरी ट्रयाकिङ गरिरहेको छ ? अहिले यो अवस्था बारे त्यहाँ कार्यरत नेपाली कामदार तथा नेपाली समुदायमा कसरी सुचना-जानकारी संदेश प्रवाह गर्नुभएको छ ?

हामीले यस अवस्थामा कोरोना भाइरस तथा यसबाट सिर्जित समस्यासँग जुध्न दूतावासको पुरै टिम लागि तयार छ, भने यहाँस्थित नेपाली संघ संस्थाहरूको पहँचलाई पनि सदुपयोग गरेका छौं । त्यसैगरी यसको लागि धेरै नेपाली कार्यरत कम्पनीमा फोन गरेर अवस्था बुझ्ने, यहाँको स्थानीय मिडिया प्रयोग गरेर सूचना सम्प्रेषण गर्ने र दुतावासको हटलाईन नं बाट पनि प्रत्यक्ष जानकारी लिने व्यवस्था मिलाइएको छ ।

ओमानमा रहेका कोही नेपालीलाई समस्या परे के गर्ने ? कहाँ र कसरी सम्पर्क गर्न सकिनेछ ?

ओमानमा रहनुभएका नेपालीहरूलाई कोभिड-१९ को लक्षण देखिएमा या, यो रोगसँग सम्बन्धित स्वास्थ्य समस्या देखिएमा देहाय बमोजिम गर्ने भनेर सूचना प्रवाह गरिएको छ ।

१. स्वास्थ्य सम्बन्धी समस्या भएमा के गर्ने ?

स्वास्थ्य मन्त्रालयको सम्पर्क नं २४४४१९९९ वा इमर्जेन्सी सेवा नं. ९९९९ मा सम्पर्क गर्ने वा नेपाली दूतावासको टेलिफोनः 2469६177/2469६883 हटलाइनहरूः ७१५९२४९०/ ७१५३०८४०र श्रम सहचारीको नं. ७१५९२५०६ मा सम्पर्क गर्न सकिनेछ ।

२.कोभिड-१९ को लक्षण (रूघा/खोकी, श्वास प्रस्वासमा समस्या, ज्वरो) देखिएमा के गर्ने ?

नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्ने

३. कोभिड-१९ को परीक्षण कहाँ गरिन्छ ?

कृपया के ध्यान दिनुहोला भने व्यक्तिको इच्छा भन्दा पनि चिकित्सकको सिफारिशमा मात्र यसको परीक्षण गरिन्छ।प्राथमिक परीक्षणको लागि देहायका केन्द्रहरूमा जान सक्नुहुनेछः

सुरमा

सुर अस्पतालः २५५६१३७२/२५५६११८० 

सुर पोलिक्लिनिकः २५५४०३२६ 

सुर स्वास्थ्य केन्द्रः २५५४२२८६/२५५४३९९६ 

मस्कटमा

सम्पूर्ण सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू

मस्कट प्राइभेट अस्पतालः २४५८३६०० 

स्टार केयर अस्पतालः बर्का (२६९८२२००)/सिब (२४५५७२००)/बौशर (२२५०७७७७)

बुर्जिल अस्पतालः २४३९९७७७      

एन् एम् सि अस्पतालः गोब्रा (२४४५०४०००)/रूवी (२४८११७०६)/सिब (२४२६९२२२)

राष्ट्रिय प्रयोगशालामा यसको परीक्षण निःशुल्क हुनेछ ।

ओमानमा हाल कोरोनाका कारण कस्ता कस्ता समस्या स्रिजित भएको छ  ? 

धेरै खालका समस्या उब्जिएका छन् । विशेष गरि नेपाली कामदारहरू काममा जान पाउनु भएको छैन । सरकारी क्षेत्रमा काम गर्ने साथीहरूलाई पनि ३० प्रतिशत सम्म जनशक्ति सीमित गर्न तथा घरबाटै काम गर्ने निर्देशन दिएकोले पनि सबै काममा जान पाउनु भएको छैन । अन्य कतिपय कम्पनीहरूले पनि कामदारको संख्यामा कटौती गरी स्वास्थ्यमा सचेतना अपनाइएको छ ।

भिसा सकिएका, कम्पनी परिवर्तन गर्न भिसा रद्द गरेर बसेकाहरुको हकमा ओमानमा कस्तो व्यवस्था गरिएको छ ?

भिसा सकिएकाहरूको हकमा नेपाल भए पनि वा ओमानमा भएपनि ४ अप्रिलबाट यहाँको सम्बन्धित निकायले अनलाइनबाट आवेदन दिन सकिने र सिस्टममा अपडेट गराउन सकिने व्यवस्था गरेको छ । यदि कसैको भिसा सकिएको छ, भने आफैं वा आफ्नो कम्पनी मार्फत त्यसलाई नवीकरण गर्नु समेत अनुरोध गर्दछु । ओमानमा सिधै कम्पनी परिवर्तन गर्न मिल्दैन ।

बिदामा नेपाल गएका, आउन नपाएका वा जान नपाएकाहरुको हकमा कस्तो व्यवस्था गरिएको छ ?

अहिले नेपाल सरकारले नै सम्पूर्ण नाकाहरू बन्द गरेकोले नेपाल जाने सम्बन्धमा कुनै प्रश्न नै रहेन । अहिले आउन नपाउनु भएका तथा जान नपाउनु भएकालहरूले यो अवस्थाको समाप्ती  पश्चात अवश्य नियमित जस्तै आवत जावत गर्नुहुनेछ ।

ओमानमा हाल कालगतीले ज्यान गुमाउने नेपाली कोही छन् कि छैनन ? अहिले कतिवटा शव नेपाल पठाउन बाँकी छ ? शवको व्यवस्थापन वा त्यंही दाह सस्कार गर्ने सम्बन्धी केही काम भएको छ ?

यहाँ त्यस्तो दःखद घटना घटेको छैन । ओमानबाट कसैको पनि शव नेपाल पठाउन बाँकी छैन ।

ओमान सरकार तथा नेपाल सरकारसँग कसरी समन्वय गर्नुभएको छ ?

ओमान सरकारसँग फोन/इमेलमार्फत सम्पर्क हुन्छ भने नेपाल सरकारका जिम्मेवार पदाधिकारी/निकायहरूसँग प्रत्यक्ष संवाद पनि हुन्छ, भने प्रत्येक दिनको रिपोर्ट बनाएर पठाउने गरिएको छ ।

दुतावास संचालन र दुतावासकै अधिकारीहरुले के कसरी सेवा प्रदान गर्दै आउनु भएको छ ? 

हाल दूतावासबाट श्रमसम्बन्धी कागजात प्रमाणीकरण तथा अन्य नियमित सेवा प्रदान नगरिने भए पनि यहाँ रहेका नेपालीलाई चाहिएको अत्यावश्यक सेवाको लागि नियमित खुल्ला छ । न्यून जनशक्ति उपस्थित भई आवश्यकता अनुसार सबैमा कर्मचारीहरूको उपलब्धता हुने गरेको छ । घरै बसेर पनि नियमित फोन सम्पर्क, हटलाइन सेवा तथा संयोजन र समन्वयकारी भूमिका र रिपोर्टिङका कामहरू साथीहरूले गर्दैआउनु भएको छ, भने कतिपय समस्याहरू फोनबाटै सम्बन्धित निकायमा समन्वय गरी समाधान गर्ने गरिएको छ ।

ओमानमा रहेका नेपालीहरुका लागि दुतावासको सन्देश के छ ? राजदुतको सन्देश के छ ?

यो एक अस्थायी समस्या हो । तसर्थ यस्तो परिस्थितिमा नआत्तिन सबैमा अनुरोध गर्दछु । सबैलाई सचेत हुन तथा स्वास्थ्य सम्बन्धी सावधानी अपानउनु हुन र केहि समस्या परेमा निर्धक्क साथ दूतावासमा सम्पर्क गर्न अनुरोध गर्दछु । यस्तो समयमा दूतावास झन बढी सक्रिय रहेको समेत जानकारी गराउँदछु।


यस बिषयमा तपाइको प्रतिक्रिया...!