‘युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरौं’

Posted on: 12 Aug, 2016

छविलाल चुडाल (३३), जिल्ला युवा समिति झापाका अध्यक्ष हुन् । हल्दिबारीका उनले व्यवस्थापनमा स्नातोकत्तर गरेका छन् । यसअघि एमाले अखिलको विद्यार्थी राजनीतिमा रहेका चुडाललाई हालै सरकारले चार वर्षका लागि नियुक्त गरेको हो । प्रस्तुत छ, उनीसँग पत्रकार गौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः–

नेपालमा युवा परिषद् किन गठन गरियो ? 

युवा देश परिवर्तनका सम्बाहक हुन् । तर, अहिले उनीहरु पलायनको चपेटामा छन्  । उनीहरु दैनिक हजारौँको संख्यामा विदेशिई रहेका छन् । यस्तो युवा पलायन हुने अवस्थालाई रोक्न र उनीहरुलाई आफ्नो समाजप्रति उत्तरदायी बनाउँदै स्वदेशमै रोजगारमूलक र उत्पादनमूलक क्षेत्रमा लगाउनु युवा परिषद्को प्रमुख उद्देश्य हो ।

त्यस्तै, नेपाली युवामा सकारात्मक सोचको विकास गर्न, समाज सकारात्मक ढंगले अगाडि बढाउनका लागि युवा परिषद् गठन गरियो । पहिले चाहिँ यो सबै काम सरकारले गथ्र्यो भने अब यी कामहरु युवा स्वयम्बाट गराउन नेपाल सरकारले प्रत्येक जिल्लामा युवा परिषद् गठन गरेको हो । 

युवा परिषद्को संरचना कस्तो छ ?

यसको संरचनाको कुरा गर्नु पर्दा चाहिँ केन्द्रमा राष्ट्रिय युवा परिषद् भनेर रहनेछ । त्यस्तै, ७५ जिल्लामै जिल्ला युवा समिति गठन हुनेछ । र, ६० वटा जिल्लामा गठन पनि भइसकेको छ । १५ वटा जिल्लामा गठन हुन बाँकी छ । र, प्रदेश संरचनाअनुसार पनि समिति गठन हुने तयारी गरिएको छ । 

युवा परिषद्ले केके कामहरु गर्छ ? 

युवा परिषद्ले युवा लक्षित कार्यक्रमहरु गर्छ । युवाको क्षेत्रमा अहिले दुव्र्यसन पनि एउटा प्रमुख कारणको रुपमा रहेको छ । त्यसलाई रोक्न विभिन्न किसिमका कामहरु गर्छ ।

युवा पलायनलाई रोक्नलाई विविध कदमहरु चाल्नु पनि हाम्रो काम हो । १२ कक्षा उत्तीर्ण गरिसक्दा विदेश नै जानुपर्छ, नेपालमा हाम्रो भविष्य छैन भन्ने सोचाइलाई बदल्न पनि हाम्रो पहलकदमी हुनेछ । नेपालमा अहिले केही युवाले आपूmलाई कृषि तथा स्वरोजगारमूलक क्षेत्रमा योगदान गरेको हामी सञ्चारमाध्यमहरुमा सुन्न, पढ्न र देख्न पाउँछौँ ।

हो, यस्ता कार्यलाई प्रोत्साहन गर्नु पनि हाम्रो उद्देश्यभित्र पर्छ । र, अन्य युवालाई सोही दिशामा लानका लागि युवा समितिले जिल्लामा भएका युवा लक्षित कार्यक्रमहरुलाई योजनाबद्ध ढंगले अघि बढाउनेछ । जिल्लामा भएको युवा लक्षित कार्यक्रमहरुबाट योजन बनाउने र कार्य सम्पादन गर्ने काम पनि अब युवा आपैmँले गर्नेछन् ।

समितिको काम युवालाई प्रोत्साहित गर्ने मात्र हो कि स्वरोजगार बनाउने पनि हो ? 

यसले दुवै काम गर्छ । जिल्लामा रहेर युवाको क्षेत्र काम गरिरहेका संघसंस्थाहरुसँग साझेदारी गरेर पनि यो संस्था अघि बढ्छ । र, स्वयम् यसले पनि स्वरोजगारमूलक कार्यक्रमहरु गर्छ । जस्तै, प्रविधिको हिसाबले इलेक्ट्रिसियन, मोबाइल टेक्निसियन, महिलाहरुलाई सिलाबुनाई, कटिङ लगायतको तालिम प्रदान गर्नु हाम्रो उद्देश्यभित्र पर्छ ।

नेपाल कृषिप्रधान देश भए पनि युवा कृषिमा जानै हुँदैन, उत्पादनको क्षेत्रमा जानै हुँदैन भन्ने मानसिकता छ । श्रमलाई अवमूल्यन गर्ने सोचाइ छ । अब पढेका हामी जस्ता युवाले कृषिलाई अझ व्यावसायिक ढंगले अगाडि लान सक्छौँ भन्ने मानसिकता सम्पूर्ण युवामा विकास गर्न जरुरी छ । 


झापामा युवासँग सम्बन्धित अन्य थुप्रै संघसंस्थाहरु पनि छन् । अब युवा समिति चाहिँ कसरी अघि बढ्छ ? उनीहरुसँग सहकार्य गर्छ कि गर्दैन ?

मैले बुझेसम्म अहिले झापामा ३० देखि ४० वटा संस्थाहरु सक्रिय रुपले काम गरिरहेका छन् । तर, ती संघसंस्थाहरु बजार क्षेत्रमा मात्र सीमित छन् ।

जहाँ सुविधासम्पन्न छ, त्यहाँबाट उनीहरुका कार्यक्रमहरु सीमित छन् । बजार क्षेत्रमा वर्कसप र सेमिनार गरेर आफ्नो बजेटलाई खर्च गरिरहेको मैले सूचना पाएको छु । अब युवा लक्षित कार्यक्रमहरु त्यसरी सीमित हुन पाउँदैनन् ।

जो वर्ग गाउँमा छन्, तिनीहरुलाई पनि अबको कार्यक्रमले छुनुपर्छ । युवा समिति आपैmँले सबै काम गर्ने चाहिँ होइन, हामी जिल्लामा काम गरिरहेका सम्पूर्ण युवासँग सम्बन्धित संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्नेछौँ । 

झापाको सन्दर्भमा वर्तमान समयमा युवाको क्षेत्रमा देखिएका समस्याहरु केके हुन् ? 

अहिले देखिएको प्रमुख समस्या विदेश पलायन हो । अर्को, रोजगारको अभाव हुँदा अथवा भनौँ कुनै एउटा काममा इङ्गेज्ड हुने मौका नपाएर वा अभिभावकहरुको रेखदेख नपुगेर धेरै युवा लागुपदार्थ दुव्र्यसनको लतमा फसेको मैले पाएको छु । त्यसमा पनि झापा नेपालमै ५ नम्बरमा पर्ने तथ्याङ्क झापाकै एउटा आधिकारिक संस्थाले सार्वजनिक गरिसकेको छ ।

झापा जस्तो विकसित जिल्लामा पनि धेरै युवा दुव्र्यसनको शिकार हुनु भनेको विडम्बनाको कुरा हो । ती युवालाई कुलतको दलदलबाट निकालेर समाजप्रति उत्तरदायी बनाउन हामी पहल गर्नेछौँ । सँगसँगै हामीले जिल्लाका प्रत्येक विद्यालय जानुपर्ने छ । किनकि हामीले ती बालबालिकालाई सचेत गर्न सक्षम भयौँ भने भोलिका युवामा आपैmँ हामीले सकारात्मक सोच पाउनेछौँ । 

झापामा गठित यो समिति पूर्ण भइसक्यो कि छैन ? के हुँदैछ अहिले ? 

जिल्ला युवा समिति नेपाल सरकारको विल्कुलै एउटा नयाँ निकाय हो । यसले केही समय कार्यालय र कर्मचारी व्यवस्थापनको लागि पनि लिनेछ ।

अहिले नेपालमा गठन भएका ६० वटा नै समितिले कार्यालय र कर्मचारी व्यवस्थापनको काम गरिरहेका छन् । नेपाल सरकारको ऐनमा उल्लेख भएअनुसार जिल्ला विकास समितिको अधिकृत, जिल्ला शिक्षा कार्यालयको अधिकृत र महिला विकास कार्यालयको प्रमुख स्वतः सदस्य हुने प्रावधान छ ।

त्यसैगरी युवा समिति कार्यालयको प्रमुख पदेन सचिव रहनेछ । जिल्लामा युवाको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरु मध्येबाट २ जना महिला र २ जना पुरुषको नामलाई राष्ट्रिय खेलकुद परिषद्मा पठाउनु पर्छ । र, सोही अनुसार त्यहाँ बैठक बसेर सम्पूर्ण प्रक्रिया पूर भएपछि यसले पूर्णता पाउनेछ । यसका लागि केही समय लाग्छ । 

अन्त्यमा, समग्र झापाली युवालाई के भन्न चाहनु हुन्छ ?

अहिले समाजमा युवालाई मात्र होइन, सबैमा कसैले केही काम गर्न लाग्यो भने यो हुँदैन, त्यो हुँदैन भनेर नकारात्मक विचार उब्जाइदिने परम्परा हाबी भएको छ । त्यसलाई चाहिँ हामीले रोक्नुपर्छ ।

अब हामीले काम गर्दा नकारात्मक कामहरुलाई केलाउनु चाहिँ पर्छ । तर, सकारात्मक कुराहरुलाई पनि लिएर तपाईंहरु सबै आफ्नो जिल्लामा केही गर्न लाग्नु होस् । र, तपार्इंहरु लाग्नु भयो भने समाज पनि बन्नेछ । र, समाजले तपाईंलाई पनि त्यसले बनाउनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!