जाजरकोटमा मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

Posted on: 27 Nov, 2017

मङ्सिर ११, जाजरकोट । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ । 

आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । 

कुशे गाउँपालिका–१ को रोलखोला भन्ने ठाउँमा बम विस्फोट भएको हो । एकजना सहयोगी सामान्य घाइतेबाहेक अन्य कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक रिमालले जनाउनुभयो । मतपेटिका पनि सुरक्षित रहेको र बेलुकासम्ममा सदरमुकाम पुग्ने उहाँले बताउनुभयो । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । गत शुक्रबार मात्रै सोही वडाका वडाध्यक्ष गोपाल नेपालीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!