भिटिएम आएपछि कोरोना जाँच शुरु

Posted on: 16 May, 2020

जेठ ३, जाजरकोट | भिटीएम (स्वाब राख्ने भाँडो) नहुँदा रोकिएको कोरोना परीक्षण  शुरु भएको छ । भिटीएम आएसँगै स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले स्वाब सङ्कलन शुरु गरेको हो । पिसीआर विधिबाट कोरोना भाइरस ( कोभिड –१९) परीक्षणका लागि जाँच्ने भिटीएम सेवा कार्यालयले आफैँले खरिद गरेर सेवा शुरु गरेको छ । चार सय भिटीएम खरिद गरेर शुक्रबारदेखि जाँच थालिएको छ । यसअघि त्यसको अभावमा परीक्षण रोकिएको थियो ।

मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका क्रेन्टाइनमा रहेकाहरु, नाकामा रहेका हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको स्वाब सङ्कलन शुरु गरिएको छ । शुक्रबार ५८ जनाको स्वाब सङ्कलन भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण हुनसक्ने आशङ्का गरिएका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वाब सङ्कलन थालिएको उहाँले बताउनुभयो ।

यसअघि जिल्लाका १०७ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख ९ गतेपछि शुक्रबार पहिलोपल्ट पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । भिटीएम र आरडिटीका लागि किट अभावमा यसअघि परीक्षण रोकिएको थियो ।

जिल्लामा हालसम्म एक हजार ७६ को आरडिटी गरिएको छ । किट अभावमा आरडिटी गर्नुपर्ने धेरै जना छुटेका छन् । आरडिटी गरेर घर पठाउनुपर्नेमा यसअघि क्वारेन्टाइनमा बसेकालाई बिनापरीक्षण नै घर पठाइएको थियो । अब उनीहरुको पनि परीक्षण गर्नुपर्ने स्थानीय तहले बताएका छन् । भारतले रेल सेवा सञ्चालन गरिसकेपछि भारतमा रहेकाहरु घर फर्कन थालेका छन् । उनीहरुलाई लक्षित गरी जिल्लामा आवश्यक तयारी भइरहेको बताइएको छ । गाउँ तथा घर फर्कनेका लागि क्वारेन्टाइनको तयारी र अन्य व्यवस्थापनको तयारी स्थानीय तहले शुरु गरेका छन् । यसअघि प्रयोग गरिएका विद्यालय, क्याम्पसलाई नै फेरि पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी छ ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले जिल्लाका छ वटै स्थानीय तह र ७३ वडामा आवश्यक तयारीमा जुट्न भनिएको बताउनुभयो । जिल्लामा चौरजहारी नगरपालिकामा ३९, आठबीसकोट नगरपालिकामा १५ र मुसिकोट नगरपालिकामा १० श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । चौरजहारीमा थप ३२ श्ययाको लागि आइसोलेसन वार्ड बनिरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!