बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

Posted on: 21 Mar, 2019

चैत ७, जाजरकोट (रासस) | जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिनुभयो । 

झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताउनुभयो । एउटा श्ययामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताउनुभयो । 

उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ । नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो । 

विसं २०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन् । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आवमा रु ५२ करोडको लागतमा भवन निर्माणका लागिबोलपत्र आह्वान हुनलागेको बताउनुभयो । जिल्लाका नलगाड नगरपालिकालगायत अन्य ठाउँका स्वास्थ्य भवन निर्माण नगर्ने निर्माण व्यावसायीको ठेक्का तोडिएको छ । 

यसैबीच नलगाड नगरपालिका–८ काव्रामा गए राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय नरबहादुर चदाराको घरबाट सल्केको आगोले देवबहादुर चदारा र लालबहादुर चदाराको घर पनि जलेर नष्ट भएको हो । घरबाट कुनै पनि वस्तु बचाउन नसकिएको स्थानीय शिक्षक नरेन्द्र केसीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!