पश्चिम जाजरकोटमा सुरक्षा माग

Posted on: 21 Sep, 2020

असोज ५, जाजरकोट । जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ । स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणको मागले सरकारी अधिकारी अचम्मित भएका छन् ।

सोचेकोभन्दा फरक मागको ओइरो आएपछि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी अचम्मित भएका हुन् । 

पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाभित्र रहेको थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकीको माग, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन् । वर्षौँदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै सबैको पहुँचमा टेलिफोन सेवा पुर्याउन समेत स्थानीयवासीले मन खोलेर माग राखेका छन् । प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतङ्कले हैरान भएको भन्दै नगरपालिकाका नगरप्रमुखले चिन्ता व्यक्त गर्नुभयो । “हरेक योजनाबाट चन्दा उठाएर हैरान बनाएका छन्, यसरी कसरी काम हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो । प्रजिअ बरालले प्रहरी चौकीको स्थापना गर्न आफूले पहल गर्ने आश्वासन दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!