राष्ट्रपतिमा आचार्य, उपराष्ट्रपतिमा बस्नेत र प्रधानमन्त्रीमा ढकाल !

Posted on: 22 Mar, 2019

चन्द्रकला भण्डारी | चैत ८, भद्रपुर | झापा जिल्ला समन्वय समितिको सभाहलमा आज संसद्को बैठक बस्यो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अर्थमन्त्रीलगायत संविधानबमोजिम निर्वाचित भएका राज्यका सबै महत्वपूर्ण अङ्गका प्रमुखहरुको सहभागिता थियो । 

जिससकै हलमा संसद् बैठक बस्ने भएपछि झापाका सहायक प्रजिअ माधव पोखरेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी उमेश मैनाली, भद्रपुर वडा नं १० का वडाध्यक्ष काजी खड्का लगायतको दर्शकदीर्घामा उपस्थिति रहेको थियो । 

आज अपराह्न १२ः३० मा बैठकको शुरुमै संसद्मा राष्ट्रपतिले उपराष्ट्रपति र सभामुखलाई शपथग्रहण गराइएको थियो । त्यसपछि राष्ट्रपतिबाट प्रधानमन्त्री र मन्त्रीहरुलाई शपथ खुवाइएको थियो । यो दृश्य साँच्चैको संसद्को नभएर युवाहरुद्वारा गठित युवा संसद्को नमूना अभ्यास मात्र थियो । त्यहाँ पुग्ने जो कोहीले साँच्चिकै संसद्को बैठक चलिरहेको झल्को पाएका थिए । 

केही दिनअघि नै जिल्लामै पहिलोपटक भद्रपुर नगरपालिकामा युवा सम्मिलित संसद् गठन भएको थियो । नगरभित्रका तिनै ४७ जना युवाले राज्य सञ्चालनका शासकीय संरचनाअनुसार व्यवस्थापिका र कार्यपालिकाअन्तर्गतका संसद, सरकार गठन, सत्तापक्ष–प्रतिपक्षको भूमिकामा अभ्यास गरेका हुन् । त्यहाँ सभामुखले संसद्को कारवाही अगाडि बढाएका थिए भने विपक्षी दलले प्रश्न उठाउने र सत्तापक्षका प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिने कार्यक्रमसमेत अभ्यास गरियो । नेपालको संविधान २०७२ को विधिअनुसार नमूना संसद्को कारवाही अघि बढाइएको थियो । 

भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पु¥याउने लक्ष्यका साथ राष्ट्रिय युवा परिषद्ले सदरमुकाममा रहेका स्थानीय तहहरुमा युवावर्गको सशक्तीकरण अनि सामाजिक, राजनीतिक र शैक्षिक मूल प्रवाहीकरणमा उनीहरुको सहभागिता खोज्न यस प्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसमा १६ देखि २४ वर्षका ४७ युवा सहभागी छन् । 

भद्रपुर नगरपालिका, शिक्षा युवा तथा खेलकूद शाखाले नमूना युवा संसद् स्थापना र सञ्चालन अभ्यास गराएको शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपानेले जानकारी दिनुभयो । नेपालमै पहिलोपटक नमूना युवा संसद् गठनको अभ्यास गरिएको हो । छनोटमा परेका युवालाई नमूना संसद् स्थापना र अभ्यासका लागि नेतृत्व विकास तथा नमूना युवा संसद् सञ्चालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षित गरिएको प्रशिक्षक योगेन्द्र पौडेलले बताउनुभयो । 

उहाँका अनुसार पुसको अन्तिम सातादेखि नै यससम्बन्धी क्रियाकलाप सञ्चालन गरिएको थियो । सबै चरण पूरा गरी मङ्गलबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन, सरकार गठन र प्रतिपक्षसमेत तयार गरिएको थियो । वडाहरुमा १५ सदस्यीय युवा समिति गठन गरी प्रत्येक वडाबाट चार प्रतिनिधि तथा नगरप्रमुखले मनोनीत गर्ने सात प्रतिनिधिसमेत ४७ जनाको संसद्बाट पदाधिकारी चयन गरिएको थियो । 

युवालाई दुई भागमा विभाजन गरी बहुमत युवाबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीहरु चयन गरिएको थियो भने अल्पमतका युवाले प्रतिपक्षको भूमिका निर्वाह गरेका छन् । राष्ट्रपतिमा रिजु आचार्य, उपराष्ट्रपतिमा शीतल बस्नेतले भूमिका निर्वाह गरेका छन् भने प्रधानमन्त्रीमा सरोज ढकाल, सभामुखमा जयन्ती सुवेदी र उपसभामुखमा सुशील पोखरेल चयन भएका थिए । 

यसैगरी विपक्षी दलको नेतामा सरोज पाण्डे र उपनेतामा देवमान बराइलीलाई चयन गरिएको थियो । सत्तापक्षीय संसदीय दलका नेता सरोज ढकालको अध्यक्षतामा सांसदहरुको छलफलपछि प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिपरिषद् गठन गरिएको थियो । 

विभागीय मन्त्रीहरुमा मनोहर गौतम गृहमन्त्री, प्रवीन लुइँटेल अर्थमन्त्री, रिनुज बस्नेत सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, अनिल प्रधान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, प्रेमा श्रेष्ठ उद्योग तथा रोजगारमन्त्री, आकाश लोहार युवा तथा खेलकूदमन्त्री, निकन अधिकारी स्वास्थ्य तथा सामाजिकमन्त्री, काजल सारु मगर महिला तथा बालबालिकामन्त्री नियुक्त भएका थिए । 

उनीहरुलाई युवा अवस्था, विश्लेषण, युथ भिजन, युवा नीति, युवा संसद्मा उठान हुने विषय, प्रश्नोत्तर तयारी, नेतृत्व विकास तथा उत्प्रेरणा, युवा संसद् परिचय र महत्व, नेतृत्व चयन तथा पदीय जिम्मेवारी बाँडफाँड, युवाका सरोकार विधिसम्बन्धी प्रशिक्षकहरु युवा समिति झापाका अध्यक्ष छवि चुडाल, योगेन्द्र पौडेल, कानून व्यवसायी टङ्क दङ्गाल र राजकुमार कट्टेल, स्रोतव्यक्ति प्रेम भुजेलले प्रशिक्षण दिनुभएको थियो । 

नमूना युवा संसद् गठनको सबै प्रक्रियामा नगर सरकार प्रमुख जीवनकुमार श्रेष्ठको प्रत्यक्ष सक्रियता र चासो रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!