झापामा धान उत्पादनमा वृद्धि

Posted on: 23 Nov, 2016

मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार रोग कीराको प्रकोपको कमी तथा उन्नत बीउको प्रयोगका कारण उत्पादन बढेको हो । गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ३१ मेट्रिक टन रहेकामा यस वर्ष ४ दशमलव ६९ मेट्रिक टन रहेको छ । 

जिल्लामा यस वर्ष ८७ हजार ५०० हेक्टर जग्गामा धानखेती भएको थियो । गत वर्ष ८३ हजार हेक्टर जग्गामा मात्र धानखेती भएको थियो । जग्गा प्लटिङका कारण धानखेती हुने क्षेत्र घट्दै गएको छ । 

जिल्लामा चार लाख १० हजार ३७५ मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा सरकारले सुपर जोन(उत्कृष्ट क्षेत्र) कार्यक्रम घोषणा गरेको छ । जिल्लाका पूर्वी तथा दक्षिणी क्षेत्रका बनियानी, पाठामारी, पथरिया, बालुबाडी, केचना र पृथ्वीनगर गाविसमा धानका निम्ति सुपर जोन कार्यक्रम लागु गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!