नेपाली तरकारी निकासी शुरु

Posted on: 21 Nov, 2018

गङ्गा पराजुली | मङ्सिर ५, पशुपतिनगर | पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ । 

पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै आएका हुन् । इलामको सूर्योदय नगरपालिका–९ स्थित बरबोटेमा स्थानीयले तरकारी सङ्कलन केन्द्र खोलेर उक्त नाकामार्फत निर्यात गर्दै आएका छन् । 

पहाडी जिल्ला तेह्रथुम, धनकुटा, सङ्खुवासभा, इलाम र पाँचथरमा उत्पादन हुने गरेको इस्कुस, मुला, कोपीलगायत हरियो साग भारतमा बिक्री गर्दै आएको व्यवसायी प्रकाश श्रेष्ठले बताउनुभयो । दश वटा भारतीय गाडीमा दैनिकरुपमा नेपाली हरियो साग निर्यात हुँदै आएको छ । भारतमा तरकारी निर्यात गर्न इलामका ग्रामीण क्षेत्रमा २० जना सङ्कलनमा खटिने गरेका छन् । 

भारतीय भन्सारको समन्वयमा निर्यात हुँदै आएको तरकारी भारतको सिलीगुडी, धुपगढी, मैनागढी, दार्जिलिङ लगायत बजारसम्म पुग्ने गरेको छ । सो नाकाबाट नेपाली कृषिजन्य सामग्री निर्यातमा रोक लगाएको भारतीय भन्सार कार्यालयले १२ वर्षपछि पुनः नेपाली कृषिजन्य सामग्री निर्यात भएपछि नेपाली किसानले राम्रो मूल्य पाएको उद्योगी बताउँछन् । दैनिक १० गाडी कृषिजन्य सामग्री निर्यात हुँदै आएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताउनुभयो । 

बजार समस्याले चिज उद्योग बन्द हुँदै 

चिजको बजार समस्याका कारण पूर्वी नेपालका उद्योग बन्द हुन थालेका छन् । नेपालका पर्यटकीय बजारमा उच्च माग रहेको चिजको माग नहुँदा उद्योग बन्द हुने क्रम बढेको हो । 

हिमालय चिज एशोसिएशनका अनुसार पूर्वी नेपालका इलाम पाँचथर र ताप्लेजुङमा २३ वटा चिज उद्योग दर्ता रहे पनि बजार समस्याका कारण १५ वटा मात्रै सञ्चालनमा रहेका छन् । पर्यटकीय सिजनमा पनि उत्पादन भएको चिज बिक्री नहुँदा किसानलाई दूधको मूल्य दिन नसकेर उद्योग बन्द हुन थालेको हिमालय चिज एशोसिएशनका उपाध्यक्ष तुलु तामाङले बताउनुभयो । 

गाईको दूध प्रशोधन गरी बनाइने चिज नेपाल आउने पर्यटकको रोजाइमा पर्ने गरे पनि बिक्री कम भएकाले उत्पादन भएको चिज उद्योगमै थन्किएको छ । उद्योगमा उत्पादित चिज बजारमा बिक्री नहुँदा धेरैजसो उद्योगले आफ्नो उत्पादन क्षमता घटाएका छन् । 

पूर्वी नेपालका चिज उद्योगमा दैनिक ३० हजार लिटर दूध प्रशोधन हुँदै आएको छ । चिज उद्योग बन्द भएका कारण गाउँमा रोजगारीका अवसर पनि गुगेको हिमालयन चिज एशोसिएशनले जनाएको छ । 

अलैची खेतीको प्रविधि सिक्ने किसान बढे 

इलामको सूर्योदय नगरपालिका–९ मा रहेको अलैची विकास केन्द्रमा व्यवसायीक अलैची खेतीको प्रविधि सिक्न आउने किसानको संख्या बढेको छ । नेपालको एक मात्र अलैँची खेतीको प्रवद्र्धनको काम गर्दै आएको सो केन्द्रमा देशभरका किसान व्यवसायीक अलैँची खेती प्रविधि सिक्न आउने गरेका छन् । 

केन्द्रमा अलैँची खेतीको नर्सरी प्रविधि, रोगकिरा व्यवस्थापन र बगान व्यवस्थापनका बारेमा तालिमको माग बढेको प्रमुख पदम अधिकारीले बताउनुभयो । अलैँची नर्सरी प्रविधि सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको केन्द्रले ६ दिने अलैची बगान व्यवस्थापन तालिम शुरु गरेको छ । 

अलैँची खेती विस्तार बढ्दै गएकाले खेती प्रविधि र नर्सरी व्यवस्थापन सम्बन्धि धेरै तालिमहरुको माग भएकाले नियमित रुपमा देशका ५१ जिल्लाका किसानलाई तालिम प्रदान गरिरहेको बरिष्ठ अलैची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । मंगलबार सम्पन्न अलैँची नर्सरी प्रविधि तालिममा इलाम, पाँचथर, ताप्लेजुङ्ग, लमजुङ्ग, गोरखा र नुवाकोटका २० जना किसानको सहभागिता रहको थियो । 

सोमबारबाट शूरु भएको अलैँची वगान व्यवस्थापनका बारेमा देशभरका ७ जिल्लाका २५ जना किसानको सहभागिता रहेको छ । अलैची विकास केन्द्रमा गत आर्थिक वर्षमा केन्द्रिय कार्यालयमा २ सय जनाले र विभिन्न जिल्लामा ३ सय बढी किसानले तालिम लिएका थिए । केन्द्रले चालु आर्थिक वर्षमा कार्यालयमै ६० जना किसानलाई र अलैँची खेती हुने विभिन्न जिल्लामा एक सय २० जना किसानलाई तालिम प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!