झापास्थित कञ्चनजंघा हस्पिटलद्वारा भूकम्प प्रतिरोधी भवन बनाउदै

Posted on: 15 Jan, 2017


माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ ।

बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको हस्पिटल निर्माण गरिरहेको छ । 

भूकम्प सुरक्षा दिवसको अवसरमा भएको छलफलमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपी यादवले २५ करोड रुपैयाँको लागतमा निर्माण हुने हस्पिटलको भूकम्प प्रतिरोधी ‘¥याफ्ट कंक्रिटिङ (फाउण्डेशन)’को काम भइरहेको जानकारी दिए । 

हस्पिटलका अर्का सञ्चालक डा. नित्यप्रसाद(एनपी) खनालका अनुसार ४ जना अनुभवी इञ्जिनियरको प्रत्यक्ष निगरानीमा हस्पिटलको भवन निर्माण भइरहेको छ । ०७२ बैशाखको शक्तिशाली भूकम्पपछि भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरी बन्दै गरेको झापाको पहिलो भवन कञ्चनजंघा हस्पिटलको भएको इञ्जिनियर नितेष कोइराला बताउँछन् । 

उनीसहित हस्पिटलको तर्फबाट इञ्जिनियर सपोज घिमिरे र निर्माण कम्पनीको तर्फबाट इञ्जिनियरहरु प्रभात मिश्र र रामबाबु यादव प्रत्यक्ष निगरानीका लागि खटिएका छन् । काठमाडौंको इजी इन्फ्र प्रालिले हस्पिटलको निर्माण कार्यको जिम्मेवारी लिएको छ ।

भूकम्पका कारण घर भवन भत्किएर धेरै मानिसको ज्यान गइरहेका बेला हरेक सार्वजनिक तथा निजी घर भवन भूकम्प प्रतिरोधी क्षमताका बनाइनु पर्नेमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपीको जोड छ । भूकम्प प्रतिरोधी मापदण्ड अपनाएर भइरहेको कञ्चनजंघा हस्पिडलको भवन निर्माण कार्यको अवलोकन गरिदिन डा.सीपी र डा. नित्यप्रसादले सरोकारवाला सवैमा आग्रह पनि गरेका छन् ।

भूकम्प प्रतिरोधका लागि हस्पिटलको माटोमुनिको भागमा तीन तह ८ सुते रड विछ्याएर अढाईफिट मोटो ढलान गरिएको र त्यसमाथि चार फिटसम्म माटोले पुरेर ग्राउण्ड लेभल कायम गरिने इञ्जिनियरले बताएका छन् । 

दुईवटा ब्लकमा निर्माण भइरहेको भवन २४ सय स्क्वायरफिटको रहने र दुई/दुई फिट मोटाइ चौडाईका ९६ वटा पिलर रहने बताइएको  छ । लिफ्ट सुविधासहितको भवन १० तलासम्म निर्माण गर्ने क्षमता भए पनि ५ तला मात्र निर्माण गरिने बताइएको छ । हस्पिटलसँगै सो भवनमा स्वास्थ्यकर्मीका लागि आवश्यक युनिभर्सिटीस्तरका विभिन्न तालिम केन्द्रसहित स्थापना गरिने बताइएको छ ।  गौरावती राजवंशी, रामकुमार सिंह राजवंशी, डा. सीपी, डा. नित्यप्रसाद र धिरज थपलियाकोे साझेदारी रहेको कञ्चनजंघा हस्पिटल उक्त भवनमा ०७५ बैशाख १ गतेबाट सञ्चालनमा आउने बताइएको छ ।

उक्त हस्पिटल हाल बिर्तामोड–१ मा सञ्चालनमा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!