नदी नियन्त्रणका लागि बजेट अपुग

Posted on: 08 Sep, 2017

भद्रपुर, २३ भदौ । जिल्लाका प्रमुख चारवटा नदी नियन्त्रणको कार्यलाई सञ्चालन गर्न बजेट अपुग भएको छ । 

चालू आर्थिक वर्ष २०७४/७५ मा नदी नियन्त्रण गर्न रु ३८ करोड ४६ लाख बजेट अपुग भएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे झापाले जनाएको छ । 

आव २०६६/६७ मा स्थापना भएको सो कार्यालयले २९ किमी लम्बाइ भएको कन्काई, ६६ किमी लम्बाइ भएको रतुवा, ४४ किमी लम्बाइ भएको विरिङ र २५ किमी लम्बाइ भएको कमल नदी नियन्त्रणको कार्य गर्दैआएको छ । 

हालसम्म सो कार्यालयले कन्काईमा १०.९३ किमी, रतुवा १४.९३ किमी, विरिङ ३.३५ किमी र कमलमा १.६४ किमी तटबन्ध गरेको डिभिजन प्रमुख कैलाश श्रेष्ठले जानकारी दिनुभयो । यी चारवटै नदीको कूल लम्बाइ १६४ किमी रहेको छ । हालसम्म रु ३१ करोड ३० लाख खर्च गरेर कूल ३०.८५ किमी तटबन्ध निर्माण गरेको छ । 

रतुवा नदीमा रु आठ करोड ५० लाख, कमल नदीमा रु दुई करोड, कन्काई नदीमा रु पाँच करोड ६१ लाख र विरिङमा रु छ करोड नौ लाख तटबन्धमा खर्च भएको छ । नदी नियन्त्रणको कार्यलाई निरन्तरता दिन बजेट अभाव रहेको श्रेष्ठको भनाइ छ । 

कन्काई नदीले किच्चकडाँगी, विसुडुब्बा, रंगीया थान, बिर्खे बस्ती, आपगाछी, भ्याकुरमारी र आँपटारी, रतुवा नदीले चप्रामारी, दुवाटोली, महादेवस्थान, झर्का, मुन्सी गाडा, दमक १० र पिडाली चोक, कमल नदीले कमल गाउँपालिका १, २ र ३ सरङ्गपारा ढेंग्री, शिवसत्ताक्षी १, ३ र ४, विरिङ नदीले बाह्रदशी गाउँपालिका ४ र ७ को चकचकी र तुल्सीबारी, कन्काई नगरपालिकाको ९ घैलाडुब्बा, बुद्धशान्ति गाउँपालिका–९ को होक्से, बाह्रदशी गाउँपालिकाको डाँगीबारी, अर्जुनधारा नगरपालिका–१ को मदनपुर र अर्जुनधारा नगरपालिकाको रमाइलोबस्ती डुबान तथा कटान गर्ने गरेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!