गौरादहमा कृषि क्याम्पसका लागि तीन करोड

Posted on: 03 Nov, 2017

कात्तिक १७, झापा । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । 

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । 

कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

विश्वविद्यालयको टोलीले यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने गरी पहिलो वर्ष ५० जना विद्यार्थी भर्ना लिने तयारीसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । गौरादहमा कृषि क्याम्पस सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट विनियोजन गरेको र रु एक करोड विश्वविद्यालयको कृषि शाखा मातहतमा आएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । 

कृषि क्याम्पस सञ्चालन हुने भएपछि स्थानीय किसान र विद्यार्थी उत्साहित भएका छन् । यहाँ कृषिका लागि प्रचुर सम्भावना भएपनि औपचारिक अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । 

कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयुक्त स्थान बन्ने विश्वास लिइएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!