सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य

Posted on: 13 Sep, 2019

भदौ २७, झापा | शिक्षालाई आधुनिक प्रविधि सुहाउँदो बनाउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य गरेको छ । 

नेपाल सरकारको रु दुई करोड ३१ लाख ९६ हजार अनुदानमा गाउँपालिकाले कम्प्युटर शिक्षाको पूर्वाधार स्थापना गरी पठनपाठन शुरु गरेको हो । कूल १७ वटा सामुदायिक विद्यालयका लागि रु एक करोड ६० लाख खर्च गरेर २६० वटा कम्प्यूटर खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो ।

झापाका १५ स्थानीय तहमध्ये सबै सामुदायिक विद्यालयमा अनिवार्य कम्प्यूटर शिक्षा लागू गर्नेमा हल्दिबारी पहिलो भएको अधिकृत घिमिरेको दाबी छ । उहाँका अनुसार सबै विद्यालयमा वाइफाइसहितको व्यवस्थित प्रयोगशाला निर्माण भइसकेको छ । कम्प्यूटर राख्नका लागि १३० टेबुल र २६० वटा कुर्सी सांसद राजेन्द्र लिङ्देनको सांसद पूर्वाधार विकास कोषको बजेटबाट खरीद गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिकाले विद्यार्थी सङ्ख्या हेरेर कक्षा ५ सम्मका विद्यालयलाई पाँचदेखि सात वटासम्म र कक्षा ८ देखि १२ सम्मका विद्यालयलाई ३० देखि ४० वटासम्म कम्प्युटर प्रदान गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन बताउनुहुन्छ । कम्प्यूटर शिक्षाका लागि गाउँपालिकाको कोषबाटै शिक्षकको व्यवस्था गरिएको उहाँको भनाइ छ । 

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको अवस्थामा लागू भएको कम्प्यूटर शिक्षाले अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्ने र प्रविधिमा विद्यार्थीहरु दक्ष बन्ने अपेक्षा गरिएको हल्दिबारी माविका प्रधानाध्यापक टङ्क पाख्रिन बताउनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!