चुनाव हुनेमा शङ्का गर्नु हुँदैन्: देउवा

Posted on: 24 Feb, 2017

फागुन १३, विर्तामोड । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – ‘संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ ।’ 

सभापति देउवाले संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुदैन् भन्दैे निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो । 

नेकपा (एमाले)ले समाजिक सद्भाव बिगार्ने काममा लागेको आरोप लगाउँदै उहाँले भन्नुभयो – ‘मधेसी र पहाडे दुबै नेपाली नागरिक हुन्, दुबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सिमानामा बसेर सीमाको सुरक्षा गर्ने मधेसी समुदायलाई शङ्का गर्नुहुँदैन ।” 

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका थुप्रै समस्या र चुनौतीलाई समाधान गर्न काँग्रेसले मात्र सक्ने उल्लेख गर्दै काँग्रेस अभिभावक पार्टी भएकाले पनि त्यो जिम्मेवारी पूरा गनर्पर्ने दायित्व रहेको स्पष्ट पार्नुभयो । 

त्यस्तै काँग्रेस नेता तथा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले “स्थानीय निकायको चुनावको मिति घोषणा भइसकेकाले चुनाव जुनसुकै अवस्थामा भएरै छाड्ने विश्वास व्यक्त गर्दै जनतामा अधिकार पु¥याउन पनि तीन तहकै निर्वाचन आवश्यक रहेको छ भन्नुभयो ।” रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!