अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

Posted on: 09 Oct, 2017

असोज २३, काँकडभिट्टा । जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । 

झापाको विर्तामोडमा रहेको विष्टको करोडौं मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो । 

अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान गरिएको छ । 

जिल्ला अदालतका पाँचैजना न्यायाधीश निर्वाचन आयोगको तालिममा गएका बेला श्रेस्तेदार इन्द्रहाङ योङहाङले गरेको थुनछेक बहसपछि डेढ करोड रुपैयाँ धरौटी रकम माग गरिएको थियो । 

सोही रकम बझुाउन नसक्दा उनी कारागार चलाउन भएको श्रेस्तेदार योङहाङको भनाइ छ । यसअघि नै अपहरण प्रकरणमा संलग्न भनिएका तत्कालीन सञ्चार मन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य, अजर राई, राजु कुँवर र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन नायब सुब्बा तेजिन्द्र न्यौपाने धरौटी रकम बुझाएर सादा तारखेमा छुटिसकेका छन् । 

विष्टले २०७३ माघ १३ गते विर्तामोडको एभरेष्ट होटलबाट आफूलाई अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएर जग्गा हडपेको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा चैत २५ गते जाहेरी दिएका थिए । 

सोही निवेदनका आधारमा प्रहरीले अन्यलाई पक्राउ गर्न सफल भए पनि पत्रकार पुजन आचार्य भने फरार रहेका थिए । 

अदालतबाट आरोप पुष्टि भए मानव अपरहण तथा शरीर बन्धक मुद्दामा सात वर्षदेखि १५ वर्षसम्म जेल र रु ५० हजारदेखि दुई लाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको श्रेस्तदार याङहाङको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!