झापामा कडा खालको रोगीको संख्यामा वृद्धि

Posted on: 01 Feb, 2018

माघ १८, भद्रपुर | झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०÷७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१÷७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखाका कर्मचारी तोया दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस्तै कडा खालका रोग लागेका आव २०७२÷७३ मा मुटु रोगी १४३ जना, मिर्गाैला रोगी ७२ जना र अर्बुद रोगी २५५ जना देखिएकामा आव २०७३÷७४ मा मुटु रोगी २१३ जना, मिर्गौला रोगी १५७ जना, अर्बुद रोगी ३५९ जना दिमागी रोग भएको एक जना र पार्किङशन रोगी एक जनासहितले यस कार्यालयबाट रोगी भएको सिफारिश लिएको बताइएको छ । 

तुलनात्मकरुपमा हेर्दा अर्बुद रोगी क्रमशः १८३, २३३, २५५ र गएको आवमा ३५९ जना भई यो रोगीको संख्या बढ्दै गएको पाइएको छ भने मिर्गौला र मुटु रोगी पनि क्रमशः बढ्दै गएकाले यो अवस्था झापाका लागि भयावह रहेको हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!