झापामा बोलेरोको ठक्करबाट एक साइकलयात्रीको मृत्यु, तीन जना घाइते

Posted on: 04 Oct, 2018

असोज १८, भद्रपुर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो । 

जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर–१२ का २८ वर्षीय टङ्क रोक्का, जिपमा सवार इलाम नगरपालिका–७ का ५५ वर्षीय विजेन्द्र रिजाल र इलाम जोगमाई–४ निवासी १९ वर्षीय विशाल सापकोटा घाइते भएका छन् । उनीहरु तीनै जनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!