मानव बेचविखनमा परेका १७९ जना उद्दारपछी नेपाल फर्किए

Posted on: 19 Feb, 2019

फागुन ७, भद्रपुर (रासस) | मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । 

माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको हो । 

मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौँ पठाइएको छ । नेपालको विभिन्न नाकाबाट मणिपुर पु¥याइएका उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्माको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताउनुभयो । 

उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेको बताउँदै माइती उहाँले उनीहरूलाई काठमाडौँ लगेर पुनःस्थापनागृहमा राखिने जानकारी दिनुभयो । 

“उहाँहरु असाध्य थकित र तनावमा हुनुहुन्छ, कतिपयसँग दलालले रु चार/पाँच लाखका दरले पैसासमेत असुलेको रहेछ”, उपसचिव भुसालले भन्नुभयो, “पुनःस्थापना गृहमा लगेर रेस्ट गराउँछौँ र उहाँहरुलाई लैजाने दलालको बारेमा सम्बन्धित निकायमार्फत अनुसन्धान गर्छौं ।” 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उद्धार गरिएका नेपालीलाई काठमाडौँ पठाउने व्यवस्था मिलाउनका लागि बिहानैदेखि पूर्वी नाका काँकडभिट्टामा खटिनुभएको थियो । 

ती नेपालीलाई इराक र युएइ लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सघाएको बताइएको छ । मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफैँ उपस्थित हुनुभएको उहाँले जानकारी दिनुभयो । 

उद्धार गरिएका नेपालीलाई सीपमूलक तालीम प्रदान गरेर उचित रोजगारीको अवसर प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइने अध्यक्ष खड्काले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!