दमकमा मुटुरोग सम्बन्धी अस्पताल

Posted on: 17 Apr, 2019

वैशाख ४, दमक । मुटु तथा मिर्गाैला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो । 

अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेड्क्रसले जनाएको छ । रेड्क्रस उपशाखाले आज दमकमा पत्रकार सम्मेलन गरी यही वैशाख ७ गतेदेखि अस्पतालले औपचारिक रुपमा सञ्चालनमा आउने उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

 उहाँले शुभारम्भका अवसर पारेर यहाँ मुटु तथा मिर्गाैला रोगसम्बन्धी विशेषज्ञ डाक्टरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुने बताउनुभयो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिर्गाैला रोग विशेषज्ञ सञ्जीव शर्मालगायत चिकित्सकको सहभागिता रहने छ ।

यस्तै, रेडक्रसले आगामी भदौदेखि विर्तामोडको मेची आँखा अस्पतालको संयुक्त साझेदारीमा आँखाको विशेषज्ञ अस्पताल समेत सञ्चालन गर्न लागिएको रेडक्रस दमक उपशाखाका संस्थापक सभापति मानबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 

विसं २०४९ मा स्थापित दमक रेड्क्रसले यसबाहेक विसं २०५३ मा रक्तसञ्चार सेवा, २०५५ मा सर्प डसाइ उपचार सेवा समेत सञ्चालन गरिआएको रेडक्रस दमक उपशाखाका निवर्तमान सभापति लीला गुरागार्इंले बताउनुभयो । दमक–७ पशुहाट क्षेत्रको करीब सात कठ्ठा जमीनमा स्थापित रेड्क्रसले विभिन्न मानवीय सेवाका कार्यसमेत गरिआएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!