एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु

Posted on: 25 Apr, 2019

झापा १२, भद्रपुर– झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिए ।

वि.सं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक÷एक र २०७५ मा १० ले एचआइभी एड्सका कारण ज्यान गुमाउनुपरेको हो । हाल झापामा ६१६ एचआइभी सङ्क्रमितले सरकारका तर्फबाट वितरित औषधि नियमित सेवन गरिरहेका छन् ।

एचआइभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क रहेको झापामा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनले देखाएको छ । झापामा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरसहित लवकुश आश्रम भद्रपुर, सहारा नेपाल विर्तामोड, आम्दा नेपाल दमक र नाइट चेस क्लब काँकरभिट्टाले एचआइभी सङ्क्रमितको परीक्षण, उपचार र हेरचाह गरिरहेका छन् ।

मेची अञ्चल अस्पताल भद्रपुरमा सिडीफोर परीक्षण गर्ने मेसिन राखिएको छ भने भाइरल लोड परीक्षणका लागि नमूना सङ्कलन, ड्राइब्लड स्पट कलेक्सन, पिएमटिसिटी सेवा (प्रसूतिबाहेक) जस्ता अति आवश्यक सेवा सङ्क्रमितले जिल्लामै पाउँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन पौडेल बताउँछन् ।

लवकुश आश्रम भद्रपुरकी संस्थापक अध्यक्ष रञ्जु शर्माले झापामा सन् २०१७ देखि २०१९ सम्ममा सङ्क्रमित महिलाबाट जन्मेका बच्चामा ३० नेगेटिभ र एक पोजेटिभ फेलापरेको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!