जुम्लाको तिलामा सिमी जोन कार्यक्रम

Posted on: 09 Aug, 2021

विजय रावत ।  साउन २५, खलङ्गा । जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो । 

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाका अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकको प्रतिवेदन अनुसार सो गाउँपालिकालाई छनोट गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले स्याउ जोन लागू हुनबाँकी पातारासी गाउँपालिका–१,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने निर्णयसमेत  गरिएको परियोजना इकाइ कार्यालयले जनाएको छ ।  

सो परियोजना यसअघि चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भइरहेको स्याउ सुपरजोन कार्यालयका प्रमुख गङ्गा पोख्रेलले जानकारी दिनुभयो ।

यस अघि सुपरजोनले सिञ्जा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिको थियो । थोरै जनशक्तिले सुपरजोनमा काम भइरहेको र स्थानीयवासी तथा सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको जनाइएको छ । सिफारिस गरिएका कार्यक्रम स्वीकृत भने केन्द्रले गर्ने कार्यालयको भनाइ छ ।

बैठकमा जिसस उपप्रमुख बुढाले कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हँुदै आएकाले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकामा थप राम्रो भएको बताउनुभयो । 

लामो समयदेखि क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी बगैँचा घेरवार सिँचाइ, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ । क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा माग हँुदै आएको छ । क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य तीन गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ ।  

१३ बढी लाख राजस्व सङ्कलन

ट्राफिक कार्यालयले सवारी कारवाहीबाट रु १३ लाख बढी राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकमार्फत रु १३ लाख २२ हजार ५० राजस्व सङ्कलन भएको भएको प्रहरी हबल्दार कुशराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,“आव २०७७÷७८ मा एक हजार ३२८ सवारी कारवाहीबाट रु १३ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यसमध्ये चालक अनुमतिपत्र बिनै सवारी चलाउने चालकको कारवाहीबाट रु तीन लाख २२ हजार जरिवाना असूली भएको छ । ”

क्षमताभन्दा बढी यात्रु राख्ने २५९ सवारीलाई कारवाहीबाट दुई लाख ५९ हजार जरिवानालगायत अन्य विभिन्न शीर्षकबाट गरी १३ लाख बढी सङ्कलन भएको छ ।  गत आवमा  २६ सवारी दुर्घटना भएका छन् । यसमा चार जनाको मृत्यु भएको छ भने १३ गम्भीर घाइते र ३७ सामान्य घाइते भएका छन् ।

पछिल्लो समयमा सावरी साधनको बढ्ने क्रमले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनै सवारी चलाउने चालकको सङ्ख्या बढेको छ । ट्राफिक कार्यालयको गत आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार लाइसेन्सबिना नै सवारी चलाउने यहाँका ३१९ चालक कारवाहीमा परेका छन् ।

ती मध्ये सबैभन्दा बढी अटो चालक, मोटरसाइकल र ट्र्याक्टर, जीप चालक छन् । अधिकांश चालक लाइसेन्सविहीन रहेको जिल्ला प्रहरी सहायक निरीक्षक बिमलकुमार रावतले जानकारी दिनुभयो । 

नर्सरी निर्माण

यहाँको तिला – ७ तुही गाउँमा २८ लाख को उच्चस्तरको नर्सरी निर्माण भएको छ । विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने उद्देश्यले नर्सरी निर्माण गरिएको हो । वन मन्त्रालय, अनुकूलन कोष, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेश नेपालको साझेदारीमा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्तर्गत  नर्सरी निर्माण गरिएको हो । 

निर्माण गरिएको नर्सरीमा डालेघाँस, बकाइनो, निवारो, खनिउ, पालमोनिया, किम्बो र बुद्धचित्रका बिरुवा उमारिएको छ । नर्सरीमा उत्पादन गरिएको बिरुवा खाली रहेको वनमा वृक्षरोपण गरिने छ । जलवायु परिवर्तनले पारेको असरलाई कम गर्दै स्थानीय बासिलाई अनुकूलन गराउनको लागि नर्सरी निर्माण गरिएको सो सस्थाले जनाएको छ । नर्सरीमा उत्पादन गरिएका बिरुवा तुहि गाउँका नागरिकलाई निःशुल्क उपलब्ध गराइने प्राविधिक विष्णुप्रसाद लुइँटेलले बताउनुभयो ।

नर्सरीमा जडीबुटी अन्तर्गत अतिश र टिमुरका बिरुवा पनि राखिएको भएको छ । ग्रामीण भेगका स्थानीयवासीकोे जीवनस्तर नर्सरीले केही राहत हुने वडाध्यक्ष हस्त बुढाले बताउनुभयो । माझपातल सामुदायिक वनमा तीन हजार र तातोपानी गाउँपालिको सर्मिमा चार हजार ६०० डाले घाँससहित रुख प्रजातिका बिरुवा रोपिएको जनाइएको छ । यसले जलवायु परिवर्तन, अनुकूलन र जीविकोपार्जनमा सहयोग गर्ने  सामुदायिक वनका अध्यक्ष मुनिलाल बुढाले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!