जुम्लामा चौथो स्थानिय खाद्यमेला शुरु, मेलाले बालिको महत्व बुझाउदै

Posted on: 20 Jun, 2017

नन्दराम जैशी | असार ६, जुम्ला । स्थानीय खाद्यबालीको संरक्षण एवम् प्रवद्र्धन गर्नका लागि जुम्लामा आजदेखि खाद्यमेला शुरु भएको छ । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा मंगलबार (आज) देखि खाद्य मेला शुरु भएको हो ।

खाद्य मेलामा चिनो, कागुनो, जौ, फापर, कोदो, सिमी, मार्से र कालीमार्सी धान लगायतका स्थानीय बालीबाट बन्ने विभिन्न प्रकारका परिकारका स्टल राखिएका छन् । मेला मार्फत स्थानिय बालिको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कंडेलले बताउनुभयो । स्थानीय खाद्य मेलाले स्थानीय बालीबाट बन्ने विभिन्न परिकार र खाने बानीको विकासमा ठुलो टेवा पुग्ने उहाको भनाइ छ ।     

कार्यालयका अनुसार मेलामा प्रदर्शनका लागि दुइ दर्जन बढि खाद्य स्टल वुकिङ्ग भएका छन् । कृषि प्रसार अधिकृत बालकराम देवकोटाले जिल्लामा उत्पादित स्थानीय बाली संरक्षण, प्रवद्र्धन र बजारीकरणका लागि स्थानीय खाद्य मेला आवाश्यक रहेको बतााउनुभयो । जुम्लामा उत्पादन हुने अर्गानिक बालिको बाहीर माग बढेपनि स्थानीय स्तरमा यसको महत्व नबुझेका कारण उत्पादन घट्दै गइरहेको उहाको भनाइ छ ।          

मेलाको आज पहिलो दिन आफ्नो उत्पादन प्रदर्शन गर्न केहि किसानहरु सहभागि भएपनि मेला अवलोकन गर्नेहरुको भने त्यति उत्साहपुर्ण सहभागिता रहनसकेन । मौषम खराबीका कारण पनि मेलामा उत्साहपुर्ण सहभागीता नभएको सरोकारवालाको बुझाइ छ । पछिल्लो समय रैथाने बालीहरु लोप हुन लागेकोले यसको उत्पादन बृद्धि र किसानलाई महत्व बुझाउन मेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!