कुडारी–ताम्ती सडक उद्घाटन

Posted on: 11 Mar, 2017

फागुन २८, जुम्ला । कुडारी–ताम्ती ९ मुछाली बुढाबाडासम्म पुग्ने २९ किमी दूरीको सडक शुक्रबार उद्घाटन गरिएको छ । 

रु २९ करोड बजेटमा ट्र्याक खोलिएको सो सडकको उद्घाटन व्यवस्थापिका–संसद्का सदस्यत्रय ललितजङ्ग शाही, बलबहादुर महत र डिल्लीप्रसाद काफ्लेले संयुक्त रूपमा गर्नुभयो । सडक उद्घाटन भएसँगै सडकको अन्तिम विन्दु ताम्ती–९ मुछाली बुढाबाडा गाउँसम्म बेलुका तीन जिप र १० मोटरसाइकल पु¥याइएको थियो । बुढाबाडागाउँ सदरमुकाम जुम्लादेखि ४९ किमी दूरीमा पर्छ । 

यसैबीच ताम्ती–९ स्थित इमिल्चा–बेहुली काँधसम्मको १५ किमी सडक पनि शिलान्यास गरिएको छ । सांसदहरूव्दारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । यो खासगरी जाजरकोट हुँदै सुर्खेत–छिन्चु जोड्ने सडक हो । 

 सो सडकका लागि आगामी दिनमा पनि बजेट व्यवस्था गर्दै जाने स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो । रु एक करोडको काम समुदायमार्फत गर्न थालिएको छ । त्यसका लागि तत्कालीन ताम्ती–१ र ४ तथा ५ र ९ वडा गरी दुई उपभोक्ता समिति बनाउने निर्णय गरिएको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!