जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु

Posted on: 26 Sep, 2018

असोज १०, जुम्ला | जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पुर्याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् । 

अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षाभत्ताका सबै कामकाज गाउँमै हुन थालेको छ । पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता टरेपछि सङ्घीयताको महसुस बैंकिङ सेवाले पनि गराएको तातोपानी गाउँपालिका स्थानीय रामकृष्ण न्यौपाने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंजाबाट सदरमुकाम पुग्न बास बस्नुपथ्र्याे, तर अहिले गाउँमै बैंक आएपछि निकै सहज भएको छ ।” 

कुन स्थानीय तहमा कुन बैंक 

सदरमुकामबाट सबैभन्दा टाढा रहेको कनकासुन्दरी गाउँपालिकामा कुमारी बैंकको शाखा सञ्चालनमा रहेको छ । जसले गर्दा पहिलेको योजनादेखि आर्थिक कारोबारका लागि बास बस्नुपर्ने स्थिति अहिले टरेको सचिव अम्मरराज गिरीले बताउनुभयो । 

त्यस्तै सिंजा गाउँपालिकामा नेपाल बङ्गलादेश बैंक, हिमा गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा सञ्चालनमा छन् । तिला गाउँपालिकमा नबिल बैंक, तातोपानी गाउँपालिकामा जनता बैंक, गोठीचौर गाउँपालिकामा सनराइज बैंक र पातारासी गाउँपालिकामा बैंक अफ काठमाण्डूको शाखा सञ्चालन भएको छ । 

पातारासी गाउँपालिकामा भने केही सामग्रीहरु जोड्न बाँकी रहेकाले सेवा सञ्चालनमा आउन सकेको छैन । नमूना गाउँपालिका बनाउने योजनाअनुसार बैंकको स्थापनालाई पहिलो प्रथामिकता दिइएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!