हिमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

Posted on: 21 Apr, 2020

वैशाख ९, जुम्ला | जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका स्थानीयवासी बिरामी हुँदा स्वास्थ्य संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

आकस्मिक सेवा प्रवाहका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो ।” 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार राजश्व छुट गरेर रु १० लाखमा पालिकाले एम्बुलेन्स खरिद गरेको हो । उहाँले भन्नुभयो, “एम्बुलेन्स सेवा सञ्चालनले यहाँका जटिल प्रकृतिका बिरामीलाई जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज भएको छ ।”

यस गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्रसहित तीन स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य केन्द्र छन् । अहिले सबै स्वास्थ्य संस्थामा तीन महिनालाई पुग्ने औषधि भण्डारण गरिएको छ तर स्वास्थ्य संस्थाबाट सिफारिस भएर आउने बिरामी हेर्ने प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा निकै समस्या छ ।

प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी हुँदा पनि स्वास्थ्य मन्त्रालयले नपठाउँदा यहाँका जटिल प्रकृतिका बिरामी सुविधासम्पन्न अस्पताल लैजान समस्या हुने गरेको थियो । पालिकाले नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि अब सहज हुने भएको वडाध्यक्ष मुनबहादुर बुढाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!