जनता आवास कार्यक्रम : जुम्लामा २५० घर निर्माण

Posted on: 06 Aug, 2020

साउन २२, खलङ्गा । जनता आवास कार्यक्रमअन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा दतिल बस्तीका २५० घरपरिवारले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो । पूर्वधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०७६÷७७ मा रु आठ करोड ४० लाखको लागतमा सो घर निर्माण गरिएको हो ।

तीमध्ये चन्दननाथ नगरपालिकामा ३२, तातोपानी गाउँपालिकामा २९, पातारासीमा २६, गुठीचौरमा ३८, हिमामा ३०, सिञ्जामा ३०, तिलामा ३० र कनकासुन्दरी गाउँपालिकामा ३५ घर निर्माण भएको पूर्वाधार विकास कार्यालय जुम्लाका निमित्त प्रमुख टङ्कप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुुसार सो घर निर्माणका लागि रु तीन लाख ३६ हजारका दरले खर्च भएको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि यहाँका गरिब तथा विपन्न दलित घरपरिवार खुशी भएका छन् । वर्षौं देखि पम्परागत घरमै बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुशी भएका हुन् ।

सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाइदिएपछि खुशी भएको तिला गाउँपालिका–१ मुनबहादुर परियारले बताउनुभयो । वर्षौँदेखि माटोको घरमा बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीजस्ता गरिब घरपरिवारले त्यस्तै घर निर्माण गर्न सपनाजस्तै थियो, पानी परे पूरै घर पानी मात्र हुन्थे अब ढुक्कले छानामुनि बस्न पाइएको र घर पाउँदा जति पानी र हिउँ परे पनि ढुक्कले छानामुनि बस्न पायौ ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!