नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिएपछि नेता बुढ्थापाको राजीनामा

Posted on: 24 Oct, 2017

कात्तिक ७, जुम्ला | नेपालका पुराना बामनेता तथा नयाँ शक्ति नेपालका सल्लाहकार नेता रामकृष्ण बुढ्थापाले नयाँ शक्तिबाट राजीनामा दिनुभएको छ । ७५ वर्षका नेता बुढ्थापाले देशमा बृहत बामपन्थी एकताको अभियान शुरु भएको समयमा पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले बामघटक छोडेर कांग्रेससँग तालमेल गरेको भन्दै आफूले राजीनामा जिल्ला पार्टीमार्फत केन्द्रलाई दिएको बताउनुभयो ।

उहाँले देशमा समाजवादको कल्पना गरिरहेको समयमा बाबुरामले कांग्रेससँग तालमेल गरेको भन्दै आफूले राजीनामा दिएको बताउनुभयो । उहाँले थप्नुभयो कांग्रेससँग कुनै केही नमिल्ने भएको र देशभर सल्लाह नगरी मनपरी तरिकाले चुनाव जित्नका लागि मात्र भट्टराई आफू सुरक्षित भएको आरोपसमेत लगाउनुभयो ।

नयाँ शक्तिले बुढ्थापालाई जुम्लाबाट प्रतिनिधीसभाको सदस्यको टिकट दिएको थियो । सोही बिषयलाई लिएर उहाँले आफ्नो राजीनामा भएको र अब आफू यो देशमा समाजवादको बाटो ल्याउन बाहिरी सल्लाहाकारको रुपमा सहयोग गर्दै बस्ने बताउनुभयो ।

को हुन बुढ्थापा ?

जुम्ला चन्दननाथ नगरपालिका–३ निवासी नेता बुढ्थापा नेपाल मजदुर किसानपार्टीका केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँ नेमकिपा जुम्लाको जन्मदाताको रुपमा पनि चिनिनु हुन्छ । उहाँले बिसं २०३६ सालमा जुम्लामा नेमकिपाको संगठन खोल्न महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । जसका कारण आज पनि जुम्लामा चर्चामा आउने धेरै बामपन्थी नेताहरु नेमकिपाका भूतपूर्व नेताहरु हुनुहुन्छ । उहाँको अगुवाईमा नेमकिपाले जुम्लामा २०४८ साल र २०५२ मा संसदीय निर्वाचन पनि जितेको थियो ।

बुढ्थापाले नेमकिपालाई सशस्त्र विद्रोहको रुपमा अगाडि बढाउने नेताको रुपमा तत्कालिन नेमकिपा आन्तरिक अभियान थाल्नुभयो । तर त्यो सफल नहुँदै २०५२ सालमा माओवादीले रुकुम रोल्पाबाट सशस्त्र आन्दोलन शुरु गरेको उहाँ बताउनु हुन्छ । पार्टी भित्र फरक विचारको वहस गर्दा आफूलाई नेमकिपाले केन्द्रीय उपाध्यक्षको पद खोसेको बताउनु भयो । कम्युनिष्ट आन्दोलनका लागि वुढ्थापाले जुम्लामा पटक पटक थालेको आन्दोलनका कारण कर्णालीका विभिन्न जेलमा दशक बढी जेल समय बिताउनुभएको छ । उहाँले नेपालमा एमाले, माओवादीसहित नेपाालका कम्युनिष्टहरुको एकताको दिन कुरिहरेका बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!