जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध

Posted on: 07 Dec, 2018

मङ्सिर २१, जुम्ला | जुम्लादेखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् । 

“वर्षौंदेखि मुआब्जाका लागि पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध गर्नुपरेको हो,” जग्गाधनी मयालाल देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “ जिल्ला प्रशासन, नगरपालिका, जिल्ला समन्वय समितिमा धाउँदा पनि क्षतिपूर्ति पाएनौँ, सडकमा दुई दर्जन बढीको जग्गा क्षति भएको छ तर मुआब्जा दिन कसैको ध्यान गएन । ” 

सरोकारवालाबीच पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिका प्राविधिकसहितको टोलीले क्षति मूल्याङ्कन गरेको बताइएको छ । सात जनाको हजार वर्गमिटर जग्गा क्षति भएको जनाइएको छ । 

मुआब्जालाई चन्दननाथ नगरपालिकाले रु ५३ लाख र गुठीचौर गाउँपालिकाले रु ४० लाख व्यवस्थापन गर्ने भने पनि व्यवस्थापन नभएको जग्गाधनी दिनेश सुनारले बताउनुभयो । यसै हप्ता टुङ्गो नलागे दानसाँघुकै तीला नदी नजिकैको सडक बन्द गर्ने स्थानीय जग्गाधनीले चेतवानी दिनुभयो । गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार दानसाँघुको विवादित जग्गाको मुआब्जा आफ्नो क्षेत्रमा नपरेकोले रकम दिन नसकिएको बताउनुभयो । चन्दननाथ नगरपालिकाभित्र पर्ने भएकाले गुठीचौर गाउँपालिकाले मुआब्जा दिँदा बेरुजु रहने भएकोले दिन नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीका अनुसार सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर छलफल गरी विवाद टुङ्याएर सडक सञ्चालनमा ल्याउने पहल भएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!