सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती

Posted on: 19 Dec, 2018

पुस ४, जुम्ला | तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । 

सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा भने टेलिफोन सेवाबाट बञ्चित रहेका छन् । 

गत वर्षको स्थानीय तहको चुनावमा आफूले जनतामा गरेको बाचाअनुसार नै टेलिफोन सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । निर्वाचनमा मत परिणामसमेत प्रहरीको सेटमार्फत सूचना लिनुपर्ने बाध्यता अब सिंजा गाउँपालिकाका लागि हटेको छ । 

सिंजाको नराकोटमा राखिएको टेलिफोन टावर हवाई कम्पनीले निर्माण सम्पन्न भइसकेको छ । यो समय सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित सम्पर्कसमेत हुन सकेको छैन । अहिले त्यहाँका महिला, पुरुषसँग कुराकानी गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताउनुभयो । 

श्रीमान् भारत गएको महीना पुग्न लाग्यो, टेलिफोन नहुँदा सास्ती भएको छ, उहाँले भन्नुभयो । यहाँका हरेक बस्तीका पुरुष व्यापार व्यवसायको लागि भारततिर गएका छन् । 

हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सञ्चारको लागि करोडौँ रकम छुट्याएको भएपनि अहिलेसम्म टेलिफोन विस्तारमा कुनै काम भएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!