कैदीका लागि लाखौँका पुस्तक संकलन, पुस्तकालय स्थापनाको तिब्र तयारी

Posted on: 12 Feb, 2019

माघ २९, जुम्ला । जिल्ला कारागारका कैदी बन्दीहरुका लागि अध्ययन गर्न पुस्तक संकलन अभियान अन्तिम चरणमा पुगेको छ ।  कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत कारगारका कैदीहरुलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना गर्ने काम जुम्लामा अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले पौष २५ गते एक कार्यक्रमको आयोजना गरेर शुरु गरेको अभियान अन्तरगत हाल सम्म ‘पाँच सय पुस्तकहरु’ संकलन भएका हुन् । कारागारमा पुस्तक संकलन अभियान अन्तरगत सहयोगी व्यक्तिहरुले कसैले आफुसँग भएका त, कसैले नयाँ पुस्तक किनेर उपलब्ध गराएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए ।


कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत कारागारमा पुस्तक संकलन अभियान गरेर कैदीहरुलाई समेत अध्ययनशिल बनाउन प्रयास गर्ने उद्देश्यका साथ शुरु भएको यो अभियानलाइ सफल पार्न उपसमिति समेत गठन गरिएको छ । सोमवार बसेको उक्त उपसमितिको वैठकले संकलन भएका पुस्तकहरु लिएर शिक्षा दिवसको अवसरमा आउँदो फागुन १२ गते जुम्ला कारागारमा पुस्तकालय स्थापना गर्ने निर्णय गरेको छ । पुस्तकालय स्थापना गर्नका लागि आवश्यक एक हजार बढि पुस्तक अटाउने र्याग तथा फर्निचरहरु निर्माणका गरिएका छन् ।

संकलन गरिएका पुस्तकहरु हाल सालै मदन पुरस्कार बिजेता निलम कार्कीको योगमाया, नोवेल पुरस्कार बिजेता पलएस बकको द गुड अर्थको नेपाली संस्करण कल्याणी धर्ती, माहात्म गान्धीको आत्मकथादेखी स्थानीय तथा राष्ट्रिय लेखक तथा साहित्यकारहरुका पुस्तकहरु संकलन गरिएका छन् ।   पुस्तकालय स्थापना गर्न बिराटनगराका डिल्लीराज गिरीले रु ४० हजारको पुस्तक, एक्पोर्ट कस्नर्सनका खेम संग्रौलाले रु ४० हजारका र जुम्लाका तोरुण कठायतले रु २ हजारका पुस्तक उपलब्ध गराएका छन् । यसैगरी  पत्रकार नागरिक समाज र विभिन्न व्यक्तिहरुले किताब उपलब्ध गराउने क्रम जारी छ । 

उत्पादनशिल, अध्ययन तथा ज्ञानवर्दक शिक्षाका लागि कर्णाली प्रदेश सरकारले संचालन गरेको यस अभियानलाई सबैले पृथक र अति आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कार्यक्रम निकै राम्रो भएको बताए । यस कार्यक्रमले गर्दा कारागारका मानिसहरु पनि अध्ययनशिल हुने उनको बुझाई छ । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम कारागारका बन्दिहरुको अर्को संसार र किताब पढौ जीवनलाई बदलौ, कर्णाली प्रदेशका कारागारलाई किताब अभियान’ भन्ने मुल नाराका साथ यो अभियान कर्णाली प्रदेशभरी शुरु भइ तिब्र गतिमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!